जर्मनी । नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिति जर्मनीमा बढेको आन्तरिक विवादका कारण बिद्रोह सुरु भएको छ । बिभिन्न देशहरुमा गठन भएका जनसम्पर्क समितिमा विवाद चुलिरहे जस्तै जर्मनीमा गठित जनसम्पर्क समितीमा पनि विवाद बढेपछि त्यहाँका महामन्त्रीले राजिनामा दिएका छन् ।
लामो समयदेखि अधिवेशन नहुनु, क्रियाशील सदस्यता वितरणमा अन्योल, र नेताहरूप्रतिको असन्तुष्टिले विदेशस्थित जनसम्पर्क समितिहरू निकै निष्क्रिय भएका छन् । कयौँ देशमा वर्षौँदेखि महाधिवेशन हुन सकेको छैन । यस्तै परिस्थितिमा नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री सिजन दाहालले राजीनामा दिएका छन् ।
दाहालले असहमति जनाउदैँ सेप्टेम्बर ११ मै सभापति शिखर खड्कालाई राजीनामा पत्र बुझाएको खवर प्राप्त भएको छ । गुपचुप राखिएको उक्त पत्रमा उनले सभापतिको पछिल्लो गतिविधिसँग असहमति जनाउँदै महामन्त्री परित्याग गरेको उल्लेख छ । समितिहरू बीचको विवाद समाधानमा नेपाली कांग्रेस नेतृत्वले चासो नदेखाउँदा हाल एक दर्जनभन्दा बढी मुलुकका जनसम्पर्क समितिमा विवाद चर्किएको बताइन्छ ।