काठमाडौँ - नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँ (विजया दशमी) को विभिन्न धार्मिक विधि तथा पूजाआजाका लागि शुभसाइत सार्वजनिक गरेको छ। समितिका अनुसार विजया दशमीको दिन (कात्तिक ४ गते बुधबार) टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ भने सोही दिन बिहान ८:४९ बजे देवी विसर्जनको शुभसाइत रहेको छ। टीका थाप्ने र लगाइदिने व्यक्तिले पश्चिम मोहडा फर्किनुपर्ने समितिले जनाएको छ।
यस वर्ष असोज २५ गते आइतबार बिहान ११:४७ बजे घटस्थापनाको शुभसाइत परेको छ। चित्रा नक्षत्र र वैधृति योग परेकाले विधिपूर्वक शान्तिपूजा गरेर घटस्थापना गर्नुपर्नेछ। असोज ३१ गते शनिबार फूलपाती, कात्तिक १ गते महाष्टमी र कात्तिक ३ गते महानवमी परेको छ। विजया दशमीपछि कात्तिक ८ गते आइतबार कोजाग्रत पूर्णिमासँगै यस वर्षको बडादशैँ समापन हुनेछ।