काठमाडौँ- नेपालको पाल्पा जिल्ला स्थायी घर भई हाल जापान आई बिभिन्न पेशा व्यवसायमा लागेका पाल्पालीहरुको साझा संस्था पाल्पा समाज जापानले तेस्रो अधिवेशन गर्ने भएको छ । टोकियोको शिनओकुबोमा रहेको बारकाडे रेष्टुरेन्टमा आगामी अक्टुबर ८ तारिखमा अधिवेशन हुन लागेको आयोजक संस्थाले जनाएको छ । अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्ने कार्यक्रम रहेको अध्यक्ष निरञ्जन गैरेले बताए ।
संस्थापक अध्यक्ष गैरेका अनुसार पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान र रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भईपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय र सामाजिक कार्यहरु गर्ने उद्देश्यले पाल्पा समाज जापानको २०१६ मा स्थापना भएको हो । समाजले हालसम्म थुप्रै मानवीय सहयोग लगायतका अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको छ ।
ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक हरेक दष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार-प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमलाई अधिवेशनले मुर्तरुप दिने बताईएको छ ।
अधिवेशनमा उत्साहजनक सहभागिताका लागि समाजले जापानका विभिन्न सहरहरुमा छरिएर रहेका पाल्पालीहरुलाई अपिल गरेको छ ।