एजेन्सी - फ्रान्सका विपन्न विद्यालयहरूमा आधारभूत स्रोतसाधन र सुविधाको माग गर्दै सुरु भएको विद्यार्थी आन्दोलन देशभर चर्किएको छ। आन्दोलनका क्रममा तोडफोड, आगजनी र प्रहरीसँगको झडपका कारण सयौँ उच्च माध्यमिक विद्यालय (High Schools) हरूको पठनपाठन ठप्प भएको छ।
प्रहरीले दंगा नियन्त्रणका हतियार प्रयोग गर्दा युवा प्रदर्शनकारीहरू गम्भीर घाइते भएपछि राष्ट्रपति इम्यानुएल म्याक्रोनको सरकार चौतर्फी दबाबमा परेको छ। गृहमन्त्री लरेन्ट नुनेजका अनुसार प्रदर्शन चर्किएपछि हालसम्म ६,१०० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् भने ७१५ जना प्रहरी अधिकारी घाइते भएका छन्। कक्षाकोठामा बेन्च, कुर्सी, एसी र कर्मचारी अभावको मुद्दा उठाएर सेप्टेम्बरको मध्यदेखि पेरिसबाट सुरु भएको यस प्रदर्शनलाई मजदुर युनियनहरूले समेत समर्थन गर्दै सडकमा र्याली निकालेका छन्।