×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

क्यान र खेलाडीहरुबिचको विवाद समाधान्मुख , खेलाडीहरु प्रशिक्षणमा फर्कने

क्यान र खेलाडीहरुबिचको विवाद समाधान्मुख , खेलाडीहरु प्रशिक्षणमा फर्कने

काठमाडौं -  नेपाल क्रिकेट संघ (क्यान) र कारबाहीमा परेका खेलाडीबीच वार्ता समाधान्मुख भएको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्लले कारबाहीमा परेका खेलाडीसँग सहमति बनेको जानकारी गराए ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्द, कार्यवाहक सचिव प्रशान्त बिक्रम मल्ल, कोषाध्यक्ष रोशन सिंह, मुख्य प्रशिक्षक पुबुदु दसानायाके र ज्ञानेन्द्र मल्लबीचको छलफल सहमतिमा पुगेको हो ।

क्यानले कारबाहीमा परेका चार खेलाडीलाई केन्द्रिय सम्झौता (सेन्ट्रल कन्ट्रयाक्ट) को ग्रेडिङमा समावेश गराउने भएपछि सहमति बनेको हो ।

क्यान र खेलाडीबीच सहमति बनेसँगै राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सोमबारबाट सुरु हुने भएको छ ।

टियु क्रिकेट मैदानमा बिहान ९ बजेबाट बन्द प्रशिक्षण सुरु हुनेछ ।

'हामीले हाम्रो लागि भन्दा पनि राष्ट्रका लागि खेल्न अनुरोध गरेका थियौं । सहमति भन्दा पनि उहाँहरुको निवेदनमाथि आगामी बैठकमा छलफल गर्ने र ग्रेडिङमा समावेश गर्ने हामीले भनेका छौँ,' मल्लले खेलपाटीसँग भने, 'अब भोलिबाट टिमको प्रशिक्षण सुरु हुनेछ ।'

आईसीसी पुरुष टि-ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि क्रिकेट टिमले आइतबारबाट प्रशिक्षण सुरु गर्ने तयारी गरेको थियो । खेलाडीलाई शनिबारसम्म होटलमा रिपोर्टिङ गर्न अनुरोध गरेको थियो ।

 क्यानले बन्द प्रशिक्षणका लागि ३० खेलाडी छनोट गरेको थियो।

तर, कारबाहीमा परेका चार खेलाडीसहित एक दर्जन बढी खेलाडीले होटलमा रिपोर्टिङ गरेका थिएनन् ।

कारबाहीमा परेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरी सहित १४ खेलाडीले रिपोर्टिङ गरेका थिएनन् ।

क्यानले गत महिना ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीप लामिछानेलाई कप्तान चयन गरेको थियो । क्यानले कप्तान मल्लसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई समेत जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। 

सेन्ट्रल कन्ट्रयाक्टको विषयमा क्यानसँगको सम्झौता विपरित सञ्चारमाध्यममा अभिव्यक्ति दिएको भन्दै मल्लसहित चार खेलाडी कारबाहीमा परेका थिए । 

यस्तै क्यानले मल्ल र दीपेन्द्रसहित सोमपाल कामी र कमल सिंह ऐरीलाई सन् २०२२ को केन्द्रिय सम्झौताबाट सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको थियो । 

तर, क्यान खेलाडीको कारबाहीमा केहि लचिलो बनेपछि सहमति बनेको हो  । 

प्रतिकृया दिनुहोस्