सर्वोच्च अदालत बार एसोसिएशनले प्रत्येक वर्षझैं यस वर्ष पनि वडादशैं तथा शुभदीपावलीको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । बिहीबार घटस्थापनासँगै वडादशैं सुरु हुने र उक्त दिनबाटै १५ दिनका लागि अदालत बन्द हुने हुँदा बुधबार नै शुभकामना कार्यक्रम आयोजना गरिएको हो ।
शुभकामना आदान प्रदान कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधशिहरुको बिशेष उपस्थित रहेका थियाे । ९५ वर्षीय बरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको उपस्थितिमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
सर्वोच्च अदालत बार एसोसिएशनको प्रांगणमा आयोजना गरिएको यस वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा एसोसिएशनमा आवद्ध बरिष्ठ अधिवक्ता, अधिवक्ता तथा अन्य बारहरुमा समेत आवद्ध कानून व्यवसायी र पत्रकारहरुको समेत बाक्लो उपस्थिति रहेको थियो । भर्खरै नियन्त्रणमा आउन लागेको कोरोना महामारीको समेत ख्याल गर्दै मापदण्डको पालना गरेर आयोजना गरिएको कार्यक्रम भव्य बनाउन सफल भएको सर्वोच्च वारकी कार्यकारी सदस्य अमिता गौतम पौडेलले बताइन् ।
आज आयोजना गरिएको कार्यक्रमले बार र बेञ्चको सम्बन्धलाई अझ फलदायी बनाउन भूमिका खेल्ने कार्यकारी सदस्य पौडेलले अनलाइनपानालाई बताइन् । ‘कतिपय कार्यक्रमहरु औपचारिकताका लागि आयोजना गरिन्छन् तर, बारले गरेको कार्यक्रम बार एसोसिएशन र सर्वोच्च अदालतको सम्बन्धलाई सुदृढ बनाउने भूमिकामा केन्द्रित हुने गर्छ । यस वर्षको कार्यक्रमले यी निकायको सम्बन्धलाई अझ मजबुत र ओजिलो बनाएको छ ।’ – कार्यक्रमपछि पौडेलले भनिन् ।
आफूहरुले सोचेकोभन्दा पनि धेरैको उपस्थितिले शुभकामना आदान प्रदान कार्यक्रमलाई गर्विलो बनाएको भनाई समेत पौडेलले राखिन् ।