भजनी- कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन्। प्रथम अधिवेशन भएको छ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै शुरू गर्नुपर्ने थियो। पछिल्लो समय आफैंले बनाएको कानुन कार्यान्वयनमा यहाँका जनप्रतिनिधि चुकेका छन्।
टीकापुर नगरपालिकाको नगरसभा सञ्चालन कार्यविधि २०७४ अनुसार एउटा अधिवेशन समाप्ति र अर्को बैठक प्रारम्भका बीचको अवधि छ महिनाभन्दा बढी नहुने उल्लेख छ। सो कार्यविधिअनुसार नगरपालिकाले पुस महिनाभित्र अर्को अर्थात् हिउँदे अधिवेशन गरिसक्नुपर्ने भए पनि माघ महिनाको तेस्रो साता भइसक्दासमेत अधिवेशन बोलाउने कुनै तयारी नगरपालिकाले गरेको छैन।
नगर प्रवक्ता दीर्घबहादुर ठकुल्लाले हिउँदे अधिवेशन पुस महिनामै बोलाउनुपर्ने भए पनि नगरसभाका लागि आवश्यक ‘एजेन्डा’ तय नभइसकेका कारणले पनि ढिलाइ भएको बताए। ‘अधिवेशन बोलाउने नगर प्रमुखले हो, अहिलेसम्म नगरसभा बोलाउनेबारे कुनै छलफल पनि भएको छैन’, उनले भने, ‘हामीले भनेर हुँदैन, माघमा पनि अधिवेशन बोलाउने सम्भावना निकै कम भइसकेको छ। सम्भवत हिउँदे अधिवेशन फागुनमा हुन्छ होला।’
उनले नगरपालिकाले भर्खर चालु आर्थिक वर्षको आयोजनाको बोलपत्र प्रक्रिया शुरू भएकाले बोलपत्र हुन नसकेका र योजना फेरबदल गर्नुपर्ने हुनसक्ने भएकाले पनि हिउँदे अधिवेशन शुरू हुन समय लागेको जानकारी दिए। नगर सभा तथा गाउँ सभा बोलाउनुभन्दा १५ दिन पहिले नगरप्रमुख वा अध्यक्षले सूचना जारी गर्नुपर्ने व्यवस्था छ।
सो व्यवस्थाको केही स्थानीय तहले कार्यान्वयन गरेको भए पनि केही जनप्रतिनिधि सो व्यवस्थाको जानकारी नभएको जस्तो समेत गर्दै आएका छन्। भजनी नगरपालिकाले पनि हिउँदे अधिवेशनको कुनै तयारी गरेको छैन। नगरपालिकाले यही माघ महिनाभित्रै नगर अधिवेशन गर्ने बताए पनि नगर सभाको कार्यविधिअनुसार माघमा सम्भव देखिएको छैन।
नगर प्रमुख शेरबहादुर चौधरीले नगरसभाका तयारीमा रहेको अवस्थामा अधिकांश कर्मचारी र जनप्रतिनिधिलाई कोरोना संक्रमण हुँदा कार्यालय नै बन्द गर्नुपरेको बताए। ‘माघ महिनामा हिउँदे अधिवेशन गर्ने तयारी थियो। संक्रमणका कारण प्रभावित भएको छ। हामी नगर सभाको उद्घाटन त माघ महिनाभित्रै गर्छौं’, उनले भने, ‘गत वर्षभन्दा हामी ढिलो पक्कै पनि भएका छौं, तर पनि यसले कुनै समस्या ल्याउलाजस्तो लाग्दैन र अर्को कुरा यस वर्ष पार्टीका अधिवेशनले पनि पुसमा गर्नुपर्ने अधिवेशन ढिलो भएको हो।’
जानकी गाउँपालिकाले पनि गाउँ सभा बोलाउन सकेको छैन। गाउँ कार्यपालिकाको बैठकले माघ २० देखि २५ गतेभित्र गाउँ सभा बोलाउने निर्णय भएको जनाएको छ। गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले विगतका वर्षहरूमा पनि गाउँ सभाको हिउँदे अधिवेशन माघ महिनामै गर्दै आएको बताए।
‘हिउँदे अधिवेशनका लागि निर्णय गरिसकेका छौं। माघ २० देखि २५ सम्म गाउँ सभाको उद्घाटन हुन्छ। सकेसम्म माघ महिनामै नभए आगामी फागुन पहिलो सातासम्म अधिवेशन सम्पन्न गर्छौं।’ रासस