×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निहारिका राजपुतले गरिन् शिवराज श्रेष्ठसँग विवाह

निहारिका राजपुतले गरिन् शिवराज श्रेष्ठसँग विवाह

बिरगंज - कुमारी आमाका रुपमा चर्चामा आएकी महोत्तरीकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दासमेत हालेकी थिइन् ।
धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र गरेकी हुन् ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रुपमा स्वीकारेका छन् । जिल्ला अदालतमा अंश मुद्दा दिएकी उनले दुईबीच पति–पत्नीका रुपमा बस्ने निर्णय भएको भनेकी छन् ।
शिवराजको अहिलेको प्रस्तुती, उनको बच्चा र म प्रतिको अदालतमा देखेको सद्भाव र पछिल्ला दिनहरु प्रतिको अफसोचले आफु संगै बस्ने निधोमा पुगेको उनले बताइन । ‘छिट्टै नागरिकता, विवाहदर्ता सहितका कागजात पनि बनाउने सहमती भएको छ ।’ उनले भनिन् । अझै पनि उनका परिवारका केहि सदस्यहरु नमानेको भएपनि शिवराजले हिम्मत देखाएर ‘तिमी र बच्चालाई म अपनाउँछ’ु भनेपछि सोच्न बाध्य भएको निहारिकाको भनाई छ ।

निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटकपटक पक्राउ समेत परेकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायको माग राख्दै अनशन समेत बसेकी थिइन् ।
यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २०७८ माघ २४ गते मा श्रेष्ठलाई सफाइ दिएको थियो । त्यसविरुद्ध निहारिका उच्च अदालत जनकपुर पुगेकी थिइन् ।

उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्यांकन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।

राजपुतले २०७९ साउन २७ गतेमा शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेपछि यस विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चासो देखाएकी थिइन् । त्यसपछि बसेको न्यायपरिषद् बैठकले तत्कालीन न्यायाधीश भट्टराईलाई सर्वोच्च अदालत तानेको थियो ।
पछि खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा राजपुतका छोराको डीएनए शिवराजसँग मिलेको थियो । उच्च अदालत जनकपुरले निहारिकाको छोरा र श्रेष्ठको डीएनए जाँच गर्न भदौ ८ गतेमा आदेश दिएको थियो । उनले ‘कुमारी आमा’हरुबाट जन्मिएका बच्चाहरुको स–सम्मान बाँच्न पाउने संवैधानिक अधिकारको सुनिश्चितताका लागि सरकार पहल गर्नुपर्ने पनि माग राखेकी थिइन् ।

त्यसअघि शिवराजले बच्चा आफ्नो नभएको दाबी गर्दै जाँच गराउन आफू तयार भएको बताएका थिए । डीएनए मिलेपछि निहारिकाले अदालतमा अंश मुद्दा दिएकी थिइन् । पहिले उनले डीएनए मिलेको अवस्थामा श्रेष्ठलाई बलात्कारको कसूरमा सजाय हुनुपर्ने बताउँदै आएकी थिइन् ।

प्रतिकृया दिनुहोस्