काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ नारायणटारस्थित एक पार्टी प्यालेसमा भइरहेको विवाह भोजका क्रममा झगडा गरी खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
छिमेकी पार्टी प्यालेसमा मादक पदार्थ सेवन गरेका मानिसहरूबीच असार १ गते झगडा भएको थियो। घटनाको खबरपछि प्रहरी बृत्त बौद्धबाट प्रहरी नायब उपरीक्षकसहितको टोलीले घटनास्थल पुग्दा एक जना घाइते फेला परेका थिए ।
सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका वडा नम्बर ८ घर भई कपन बस्ने ३५ वर्षका धनबहादुर श्रेष्ठको टाउकोमा खुकुरी प्रहार भएको थियो। उनलाई प्रहरीले अस्पताल लगेको थियो ।
बिबाहको पार्टीमा भएको सामान्य झगडाको नहुँमा रिसईवी राखेर श्रेष्ठको टाउकोलगायत ठाउँमा खुकुरी प्रहार भएको पाइएको प्रहरीले जनाएको छ। प्रहरी पुग्दा खुकुरी प्रहार गर्ने व्यक्तिहरू घटनास्थलबाट फरार भइसकेका थिए ।
काभ्रेपलाञ्चोक मण्डन देउपुर नगरपालिका वडा नम्बर ६ घर भई गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ जोरपाटीमा बस्दै आएका ३० वर्षका शरण पोखरेल, सिन्धुपाल्चोक हेलम्बु नगरपालिका वडा नम्बर ४ का २२ वर्षीय कविराज तामाङ र सिन्धुपाल्चोक हेलम्बु वडा नम्बर ४ का २० को सुजन श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट खुकुरी एक थान, मोबाइल एक थान बरामद गरिएको पनि प्रहरीले जनाएको छ।