काठमाडाैँ- हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि विभिन्न १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
सोमबार काठमाडौँमा हात्तीपाइले रोग निवारणका लागि आम औषधी सेवन अभियानका बारेमा जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।
महाशाखाले झापा, बारा, लमजुङ, पर्वत र बागलुङ तथा मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा आम औषधी सेवन अभियान सञ्चालन गर्न लागिएको महाशाखाका निर्देशक डा. चुम्बनलाल दासले जानकारी दिए । उनले हात्तीपाइले रोग निवारणका लागि सचेतनामुलक कार्यक्रमको पनि आयोजना गरिने बताए ।
नेपालका ६३ जिल्लाबाट सुरु गरिएको औषधि सेवन अभियान ५३ जिल्लामा बन्द गरिसकेको र १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक-पटक औषधी खुवाउनुपरेको महाशाखाले जनाएको छ ।