काठमाडौँ- न्यूयोर्कको एउटा अपार्टमेन्ट भवनमा आगलागी हुँदा नौ बालबालिकासहित कम्तीमा १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरीक एडम्सका अनुसार अन्य ३२ जनालाई अस्पताल भर्ना गरिएको छ, जसमध्ये धेरैको अवस्था गम्भीर रहेको छ ।
बिबिसीका अनुसार १९ तले ब्लकमा भएको यो आगलागी न्यूयोर्कमा ३० वर्षयताकै सबैभन्दा खराब देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । स्थानीय समय अनुसार राति ११:०० ब्रोन्क्स अपार्टमेन्ट ब्लकको दोस्रो र तेस्रो तल्लामा आगलागी भएको थियो ।
आगो निभाउन करिब २०० फायर फाइटरहरूको प्रयोग गरिएको थियो । घटनामा कुल ६३ जना घाइते भएका छन् जसमा ३२ जनालाई अस्पताल लगिएको छ । जसमा १३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
आगो लागेको ब्रोन्क्सको क्षेत्र ठूलो मुस्लिम आप्रवासी जनसङ्ख्याको घर हो र आगोबाट प्रभावित धेरैजसो गाम्बियाबाट अमेरिका आएको मानिन्छ । फिलाडेल्फियाको एउटा अपार्टमेन्टमा आगलागी हुँदा १२ जनाको ज्यान गएको केही दिनपछि यो घटना घटेको छ ।