×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

निर्वाचन आयोग जाँदै जसपा : जुट्ला त सहमति ?

निर्वाचन आयोग जाँदै जसपा : जुट्ला त सहमति ?

जनता समाजवादी पार्टी (जसपा) का दुबै पक्षलाई निर्वाचन आयोगले आज छलफलका लागि बोलाएको छ ।

आयोगले जसपाका महन्थ–राजेन्द्र र बाबुराम–उपेन्द्र पक्षलाई आज ११ बजे छलफलका लागि आयोगको कार्यालयमा बोलाएको हो ।

अध्यक्ष उपेन्द्र यादवले आधिकारिकताको दाबी गरेपछि आयोगले दुबै पक्षलाई बोलाएर सहमतिको प्रयासस्वरुप छलफल गर्न लागेको हो ।

अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई गरिएको कारबाहीलाई मान्यता नदिएपछि असार ४ गते आयोगमा आधिकारिकताको दाबी पेश गरेका छन् ।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति सदस्यमध्ये ३० जना आफूहरूको पक्षमा रहेको बाबुराम–उपेन्द्र पक्षको भनाइ छ ।

यता, अर्का अध्यक्ष ठाकुरले बाबुराम–उपेन्द्र पक्षका २० जनालाई हटाएर कार्यकारिणी समिति पुनर्गठन गरिएको जानकारी आयोगमा दिएका छन् । यद्यपि आयोगलाई पुनर्गठित कार्यकारिणी समितिलाई मान्यता दिएको छैन ।

निर्वाचन आयोग जानुअघि सोमबार दुबै पक्षको छुट्टाछुट्टै अनौपचारिक बैठक बसेको थियो ।

महन्थ–राजेन्द्र पक्षको बैठकले बाबुराम–उपेन्द्र समूहसँग एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको एक नेताले जानकारी दिए ।

तर, त्यसका लागि पुनर्गठित कार्यकारिणी समिति आफूहरूको बटमलाइन रहेको उनले बताए ।

‘बैठकले एकताका लागि पहल गर्ने निष्कर्ष निकालेको छ। एकता भइदिए त्यो भन्दा सकारात्मक अरू केही हुँदैन,’ ती नेताले भने,‘तर, हामीले पुनर्गठन गरेको कार्यकारिणी समितिले मान्यता पाउनु पर्छ ।’

पुनर्गठित कार्यकारिणी समितिले मान्यता पाउनुपर्ने महन्थ–राजेन्द्र पक्षको अडान बाबुराम–उपेन्द्र पक्षले स्वीकार गर्ने सम्भावना भने न्यून देखिएको छ । किनभने महन्थ–राजेन्द्र समूहले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहित बाबुराम–उपेन्द्र पक्षका २० जनालाई समितिबाट हटाइसकेका छन् ।

यता, बाबुराम–उपेन्द्र पक्षले एकताका लागि महन्थ–राजेन्द्र पक्षले गल्ती स्वीकार गरेर आत्मालोचना गर्नुपर्ने अडान राखेको छ । 

प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोगी बनेका महन्थ–राजेन्द्र पक्षले आत्मालोचना गरे एकता सम्भव रहेको एक नेताले बताए ।

‘प्रधानमन्त्रीले प्रतिगमन गर्नुभएको छ। उहाँहरू प्रतिगमनको मतियार बन्नुभयो,’ बाबुराम–उपेन्द्र पक्षीय एक नेताले भने,‘गल्ती स्वीकार गरेर आत्मालोचना गर्न तयार भए अझ पनि एकता सम्भव छ ।’

छलफलका लागि महन्थ–राजेन्द्र पक्षबाट लक्ष्मणलाल कर्ण, उमाशंकर अरगरिया, सुरेन्द्र झा, केशव झा, मुकेश मिश्रसहित दुईजना कानुन व्यवसायी निर्वाचन आयोग जाने बताइएको छ ।

यसैगरी बाबुराम–उपेन्द्र पक्षबाट संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्रराय यादव र अशोक अधिकारी आयोग पुग्ने भएका छन् ।
 

 

प्रतिकृया दिनुहोस्