काठमाडौं - श्रीलंकालाई ६ विकेट हराउदै दक्षिण अफ्रिकाले आईसीसी ट्वान्टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ ।
सोमबार अमेरिकाको न्यू योर्कमा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
दक्षिण अफ्रिकाको जितमा ओपनर क्विन्टन डी ककले २० रन बनाए । हेनरिक क्लासेनले अविजित १९, ट्रिस्टान स्टुब्सले १३ रन बनाउँदा कप्तान आइदेन मार्करमले १२ रन थपे ।
श्रीलंकाका कप्तान वनिन्दु हसरंगाले दुई विकेट लिए । नुवान तुसारा र दासुन सनाकाले समान एक विकेट हात पारे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको श्रीलंका १९.१ ओभरमा ७७ रनमै समेटिएको थियो ।
श्रीलंकाको खातामा कुशल मेन्डिसले सर्वाधिक १९ रन बनाए । एन्गोलो म्याथ्युले १६ रन थप्दा कामिन्दु मेन्डिसले ११ रन बनाए । यसबाहेक, अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । श्रीलंकाका तीन ब्याटर शून्यमा पभेलियन फर्किए ।
श्रीलंकाको ब्याटिङ लाइन धराशायी बनाउन दक्षिण अफ्रिकाका एनरिक नोर्ट्जेले घातक बलिङ गरे । चार ओभर बलिङ गरेको नोर्ट्जेले सात रनमात्र खर्चिएर चार विकेट लिए । उनको इकोनोमी रेट १.७५ को मात्र थियो । यसबाहेक, कगिसो रबाडा र केशब महारेजले समान दुई विकेट लिए । ओटनेल बार्टमानको नाममा एक विकेट रह्यो ।
प्रतियोगिताका दुवै टिमको यो पहिलो खेल हो । प्रतियोगिताको यो समूहमा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, नेदरल्यान्ड्स र बंगलादेश छन् ।