१६ औं संस्करणको युरोकप फुटबलमा (आज) शुक्रबार तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीच प्रतिस्पर्धा हुनेछ । समूह ई मा रहेको दुई टिमबीचको खेल साँझ ६:४५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २ १ गोल अन्तरले हराएको थियो । स्लोभाकिया समूहको शीर्ष स्थानमा रहेको छ ।
स्विडेन भने पहिलो जित निकाल्ने योजनामा हुनेछ । स्विडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक भिड्ने छन् । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
समूह डी मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा रहेको छ । पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १-० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ ।
पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २-० ले हराएको थियो । चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।
आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
समूह डी को इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो ।