काठमाडौँ- इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टसले सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लखनउले दिएको १७० रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउँदै १५७ रन बनाएपछि खेल १२ रनले गुमाएको हो ।
सनराइजर्सका लागि राहुल त्रिपाठीले ४४ रन बनाए भने निकोलस पुरनले ३४ रनको योगदान दिएका थिए । त्यस्तै कप्तान केन विलियम्सनले १६, वाशिंटन सुन्दरले १८ अभिषेक शर्माले १३ र एइडेन मार्क्रमले १२ रन बनाएका थिए । त्यस्तै लखनउका बलर अभेस खानले ४ विकेट लिए भने जासन होल्डरले ३ तथा क्रुनाल पाण्डेयले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुलले सर्वाधिक ६८ रन बनाए भने दिपक हड्डाले ५१ रन बनाएका थिए । त्यसैगरी आयुष बदोनीले १९ र मनिष पाण्डेले ११ रन बनाएका थिए । सनराइजर्सका बलर वाशिंटन सुन्दर, रोमारिओ शेफर्ड र टी नटराजनले २-२ विकेट लिएका थिए ।
यो जितपछि लखनउले ३ खेलमा २ जित र एक हारसहित ४ अंक बटुलेको छ भने सनराइजर्सले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको छ । आइपिएल अन्तर्गत आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच खेल हुँदै छन् ।