सन् १६५६ को ज्यानुअरी ४ मा मध्यरात पर्न लाग्दा स्पेनी पानीजहाज ’नुएस्त्रा सेन्योरा दे लास माराभियास’ (स्पेनी भाषामा हाम्री चमत्कारी महिला) को छतमा शान्ति थियो । त्यतिबेला समुद्रको आवाज र जहाजका पालमा हावाले हानिरहेको आवाज मात्र सुन्न सकिन्थ्यो । अहिलेको एक्वडोरनजिकै समुद्रमा चट्टान भएको क्षेत्रमा डुबेको अर्को विशालकाय जहाज ’जीजस मारिया दे ला लिम्पिया कोन्सेप्शन’को भग्नावशेषबाट सङ्कलित चाँदी लिएर माराभियास स्पेनितर जाँदै थियो । तर केही क्षणमा अकस्मात् त्यहाँ ठूलो परिवर्तन आयो । जहाजहरूको उही समूहमा यात्रा गरिरहेको ’नुएस्त्रा सेन्योरा दे ला कोन्सेप्शियोन’ नामक अर्को पानीजहाज माराभियाससँग ठोकिन पुग्यो । त्यसो हुँदा माराभियास चट्टानतिर धकेलियो । आधा घण्टाभित्र उक्त जहाज आन्ध्र महासागरको पीँधमै पुग्यो । उक्त जहाजमा भएका ६५० जनामध्ये केवल ४५ जनाको ज्यान जोगियो ।
नयाँ खोजी
उक्त स्थान बहामसको तटबाट ७० किलोमिटर पर छ । विगत चार शताब्दीमा अनेकौँ टोलीहरूले उक्त स्थानबाट खजाना निकालेर लगेका छन् । यद्यपि विगत दुई वर्षदेखि संरक्षणविद् र अन्तर्जलीय पुरातत्त्वका विशेषज्ञहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले उक्त स्थानमा अझै बाँकी रहेका सामग्री खोजेका छन् । त्यहाँ फेला परेका सामान भर्खरै स्थापित बहामस सामुद्रिक सङ्ग्रहालयमा पहिलो पटक प्रदर्शनमा राखिएको छ । “माराभियास बहामसको सामुद्रिक इतिहासको एउटा प्रतीक हो,” कार्ल एलनले भने । उनी व्यवसायी र समाजसेवी हुन् । यो खोजीमा संलग्न कम्पनी एलन एक्स्प्लोरेशनका उनले नै स्थापना गरेका हुन् ।
“उक्त जहाज दुर्घटनाको इतिहास अलि जटिल छ । सत्रौँ र अठारौँ शताब्दीमा स्पेनी, इङ्ग्लिश, फ्रान्सेली, डच, अमेरिकी र बहामसका अभियानअन्तर्गत उक्त जहाजका थुप्रै टुक्रा फेला परेका थिए,” उनले भने ।
एलन एक्स्प्लोरेशनले जारी गरेको एउटा विज्ञप्तिमा सामुद्रिक पुरातत्त्वविद् जेम्स सिन्क्लेअरले “विगतमा भएका खोजी र समुद्री आँधीले जहाज नष्ट भएको हुनसक्छ” तर आफ्नो समूह “त्यहाँ थप कथा बाँकी रहेकोमा” विश्वस्त रहेको बताएका छन् ।
सङ्ग्रहालयका अनुसार हालैको अभियानले पत्ता लगाएको सबैभन्दा महत्त्वपूर्ण सामग्रीमध्ये हारमा जडिने सुनको एउटा लर्कन थियो । त्यो वस्तुको बीच भागमा क्रस अफ सान्टिआगो (सेन्ट जेम्स) अङ्कित छ ।
एउटा ठूलो अण्डाकार कोलिम्बियन पन्नाबाट निस्किएको त्यस्तै क्रस अर्को वस्तुमा पनि छ । वास्तविक स्वरूपमा उक्त वस्तुको बाह्य घेरामा १२ वटा पन्ना थिए । ती १२ देवदूतका प्रतीक थिए ।
यी वस्तुलाई बाह्रौँ शताब्दीमा स्थापना भएको प्रतिष्ठित धार्मिक र सैन्य समाज ’अर्डर अफ सान्टिआगो’ स्पेन र पोर्चुगलमा अस्तित्वमा रहेको प्रमाण मानिएको छ । यसमा संलग्न वरिष्ठ सैनिकहरू सामुद्रिक व्यापारमा सहभागी हुन्थे ।
सन् १५०२ र १५०३ को बीचमा पोर्चुगलका अन्वेषक भास्को द गामाले २१ वटा जहाजको समूहको नेतृत्व गरेका थिए । उनको यात्रामा उक्त सैन्य समाजमा नौ वरिष्ठ सैनिक पनि थिए । भास्को भारत पुग्ने पहिलो युरोपेली समुद्रयात्री हुन् । माराभियासको भग्नावशेषमा सुन र चाँदीका सिक्का, पन्ना, बैजनी रङ्गका एमथिस्ट नामक पत्थरहरू, १.८ मिटर लामो सुनको सिक्री र ३४ केजीको एउटा टुक्रा चाँदी भेटिएको थियो । एलन र उनको समूहले खजानाबाहेक अन्य सामग्री पनि भेटेका थिए ।
उक्त अभियानले फेला पारेका त्यस्ता वस्तुमा जहाज सन्तुलनमा राख्न प्रयोग हुने ठूलो आकारको ढुङ्गा, फलामका सिक्रीहरू र जहाज चलाउँदा प्रयोग गरिने एउटा उपकरणको ढलौटे पेच पनि छन् ।
बहामसको महत्त्व
एलन एक्स्प्लोरेशनले ती वस्तुहरू बहामासमै रहून् भन्ने आफ्नो चाहना भएको बताएको छ। बहामस सामुद्रिक सङ्ग्रहालयले पनि त्यस्तै इच्छा व्यक्त गरेको छ ।
“समुद्रमा निर्मित यो राष्ट्रका लागि समुद्रसँग बहामसको सम्बन्धबारे कम थाहा हुनु आश्चर्यको विषय हो,” सङ्ग्रहालयका निर्देशक माइकल पेटम्यानले भने ।
“केही मानिसहरूले अहिले बुझेका छन् कि यहाँ १,३०० वर्षअघि लुकायन आदिवासी समुदायका मानिसहरू बसोबास गर्थे । अथवा झन्डै ५०,००० मानिसको सम्पूर्ण जनसङ्ख्यालाई स्पेनीहरूले बलपूर्वक निष्कासन गरेर भेनेजुएलामा मोती खोज्न बाध्य पारेका थिए । उनीहरू तीन दशकभन्दा कम समयमा लोप भए,” उनले भने ।