काठमाडौं - लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध बैंकिङ कसुरको मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी उनीविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउका लागि अनुमति दिएको हो।
जनमत पार्टीकै नेतृ आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीअनुसार, रायमाझीले चौहानसँग साढे पाँच लाख रुपैयाँ सापटी लिएकी थिइन् र सो रकम फिर्ताको ग्यारेन्टीस्वरूप दिएको चेक बाउन्स भएको थियो।
चौहानको जाहेरीपछि प्रहरीको आग्रहमा पर्सा जिल्ला अदालतले गत जेठ १६ गते रायमाझीलाई फरार प्रतिवादी कायम गर्दै पक्राउ पुर्जी जारी गरेको थियो। सोही आदेश कार्यान्वयन गर्न पर्सा प्रहरीले असार ३ गते सांसद रायमाझीको स्थायी ठेगाना रहेको बर्दिया प्रहरीलाई खानतलासी गरी पक्राउ गर्न पत्राचार गरेको छ।
यद्यपि, बर्दिया प्रहरीले भने उक्त पत्र हालसम्म प्राप्त नभएको जनाएको छ।