काठमाडौँ- देशभर अक्सिजन अभाव हुन नदिन तथा तत्काल खोप सेवा सुचारु गर्न सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ ।
मंगलबार अधिवक्ता विकास भट्टराई, अमिता गौतम पौडेल, कृतिनाथ शर्मा पौडेल, मनिष कुमार श्रेष्ठले बहस गरेका मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।
अधिवक्ता कृतिनाथ शर्मा पौडेलका अनुसार आदेशमा अक्सिजनको अभाव हुन नहुने, तत्काल खोप सेवा सुचारु गर्नुपर्ने, अस्पतालहरूमा बेड सहितको अक्सिजन सेवा सुचारु हुनुपर्ने तथा विशेषज्ञ सहितको सेवा सुचारु हुनुपर्ने उल्लेख छ ।
न्यायाधीश दीपक कुमार कार्की र सपना प्रधान मल्लको इजलासमा भएको उक्त बहसमा अदालतले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय, सीसिएमसी सहित ७ वटै प्रदेश सरकारलाई समेत उक्त आदेश दिएको हो ।
अधिवक्ता कृतिनाथ शर्मा पौडेलले अनलाइनपनासँग कुरा गर्दै भने ‘अदालतले पहिलो पटक यस्तो आदेश जारी गरेको हो । आदेशमा अक्सिजन, खोप तथा विशेषज्ञ लगायतका कुराहरू समावेश गरी मन्त्रीपरिषद्को कार्यालय देखी ७ वटै प्रदेशलाई यो आदेश दिइएको छ ।