×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मौसम : देशभर बढ्यो चिसो, आगामी हप्ता वर्षा नहुने

मौसम : देशभर बढ्यो चिसो, आगामी हप्ता वर्षा नहुने

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । मौसम पूर्वानुमान महाशाखाले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको बताएको हो ।  

तापक्रम घटेका कारण चिसो महसुस भएको महाशाखाको भनाई छ । अहिले पश्चिमबाट हावा चलेको र कहिलेकाहीँ उत्तर-पश्चिम भेग हिमालतिरबाट पनि हावा आउने हुँदा चिसो हुने गरेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले बताए । तुलनात्मक रुपमा यो हप्ता यत्तिकै चिसोको अवस्थामा रहने उनले जानकारी दिए । वरिष्ठ मौसमविद् पौडेलले तापक्रम निरन्तर नघट्ने स्पष्ट पारे । अक्टोबर र नोभेम्बर महिनामा यत्तिकै अवस्थामा अथवा एक, दुई डिग्रीको तलमाथि मात्रै रहने बताए । शुक्रवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनले डिसेम्बर महिनाको सुरुवात भएपछि भने तापक्रम घट्दै जाने र जाडो बढ्दै जाने उल्लेख गरे ।

उनले मनसुन सकिएर पोस्ट मनसुनको अवस्था भएकाले बिस्तारै जाडो हुँदै जानु स्वभाविक भएको बताए । उनले आगामी एक हप्ता भने वर्षा हुने सम्भावना नरहेको स्पष्ट पारे । जाडो बढ्ने र घट्ने कुरा भने हावाको बहाव कताबाट आएको छ त्यसले निर्धारण गर्ने उनको भनाई छ ।

वरिष्ठ मौसमविद् पौडेलले डिसेम्बर महिनाबाट जाडो हुने उल्लेख गर्दै डिसेम्बर, जनवरी र फेब्रुअरीमा तराईमा हुस्सु र कुहिरो लाग्ने भएकाले अहिलेदेखि नै सचेत हुनुपर्ने बताए । उनले शीत लहरको अवस्था पनि आउन सक्ने भएकाले त्यसबाट बच्ने पूर्व तयारी गर्न सुझाव दिए ।  

प्रतिकृया दिनुहोस्