×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाडौँको तापक्रम दिनहुँ घट्दो क्रममा

काठमाडौँको तापक्रम दिनहुँ घट्दो क्रममा

काठमाडौँ-  केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत शुक्रबारदेखि उपत्यकाको तापक्रम दैनिक एकदेखि दुई डिग्री सेल्सियसले घटिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै प्रणालीको प्रभाव नभई मौसमी कारण भएको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताए ।  “डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जानेछ”, उनले भने । काठमाडौँ उपत्यकासहित देशभरको अधिकमत तापक्रमसमेत दैनिक एकदेखि दुई डिग्री सेल्सियसका दरले घट्न थालेको हो ।

आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम चार दशमलव तीन डिग्री सेल्सियसमा झरेको छ । आइतबार उपत्यकाको तापक्रम पाँच दशमलव शून्य डिग्री सेल्सियस थियो । अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

हाल देशको प्रदेश नं १, २ का पूर्वी भूभाग र प्रदेश नं ५ का पश्चिमी भूभागलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मंगलबार लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम चार दशमलव तीन डिग्री र अधिकतम तापक्रम १९ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस चार दशमलव ६ डिग्री र सबैभन्दा धेरै सिमराको अधिकतम तापक्रम २४ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।

 

प्रतिकृया दिनुहोस्