एउटा जङ्गली डढेलोले क्यानडाको अहिलेसम्मकै उच्च तापक्रम पुगेको गाउँको ९० प्रतिशत भागमा असर पुर्याएको स्थानीय सांसद् ब्राड भिसले बताएका छन् । ब्रिटिश कोलम्बियास्थित लीटन गाउँ र वरपर रहेका पूर्वाधारमा धेरै क्षति पुर्याएको उनले बताएका हुन् ।
लीटनका मेयर ज्यान पोल्डरम्यानले पनि बीबीसीसँग जीवन जोगाउन सकेकोमा आफू भाग्यमानी भएको बताएका छन् । ‘लीटनको धेरै क्षेत्र बाँकी रहने छैन,’ उनले भने । ‘जताततै डढेलो लागेको छ ।’ बीबीसीको न्यूजआवर कार्यक्रममा बोल्दै पोल्डरम्यानले आफ्नो नगरलाई डढेलोले नराम्ररी प्रभावित गरेको बताएका हुन् ।
यसअघि उनले डढेलो जम्मा १५ मिनेटमा पुरै गाउँमा फैलिएको र आफूहरूले मानिसहरूलाई अन्यत्र सार्न निर्देशन दिएको बताएका थिए । यो साता उक्त गाउँमा क्यानडामा अहिलेसम्मकै उच्च ४९.६ डिग्री सेल्सियस तापक्रम पुगेको बताए । पश्चिम क्यानडाको ब्रिटिश कोलम्बियामा पाँच दिनभित्र ४८६ जनाको मृत्यु भएको छ जुन अहिलेसम्मकै धेरै हो । सामान्य अवस्थामा औसत मृत्यु १६५ हुने गर्थ्यो ।
प्रमुख कोरोनेर लिजा लपोइन्टीले डढेलो लाग्नुको कारण मौसम भएको बताएकी छन् । विगत ३ देखि ५ वर्षभित्र पश्चिम प्रान्तमा गर्मीका कारण केवल तीनजनाको मात्रै मृत्यु भएको थियो । त्यसरी ज्यान गुमाउने धेरैजसो हावा प्रवाहको राम्रो व्यवस्था नभएका घरमा एक्लै बस्नेहरू रहेको लपोइन्टीले बताइन् ।
लीटनमा के भएको थियो ?
धुवाँ र आगोको लप्का गाउँतिर आउन थालेपछि स्थानीय बासिन्दाहरू आफ्ना सामानहरू बिना नै त्यहाँबाट अन्यत्र सरेका थिए । उक्त गाउँमा करिब २५० जना मानिस बस्छन् र त्यो भ्यानकुभरभन्दा २६० किलोमिटर टाढा उत्तर-पूर्वमा पर्छ ।
‘१५ मिनेटमा पुरै गाउँलाई डढेलोले ढाकेको थियो,’ मेयर पोल्डरम्यानले बीबीसीसँग भने । ‘मानिसहरूले आफ्ना घरपालुवा जनावर च्यापे, घरको साँचो लिए र कारमा चढेर अन्यत्र गए ।’
सीबीसीकी मौसमविद् जोआना वाग्स्टाफले बुधवार साँझ ७१ किलोमिटर प्रतिघण्टाको हावाको बेग समुदायतर्फ आएको बताएकी छन् । तातो, सुख्खा र तीव्र हावाको उक्त अवस्थामा उक्त क्षेत्रमा आगो प्रतिघण्टा १० देखि २० किलोमिटरको वेगमा रहनसक्छ ।
उक्त गाउँमा बस्ने बासिन्दाहरूलाई नजिकैका समुदायहरूमा जान सुझाइएको थियो जहाँ बस्ने केन्द्रहरू बनाइँदै थियो । ब्रिटिश कोलम्बियाको डढेलो नियन्त्रण गर्ने निकायले भने अन्य क्षेत्रलाई पनि आफ्ना सदस्यहरूलाई उपकरणसहित प्रभावित क्षेत्रमा अग्नि नियन्त्रणका लागि पठाउन भनेको छ । –बीबीसी