काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमणलाई लिएर उत्पन्न विवाद र अन्योलप्रति सार्वजनिक रूपमा माफी मागेको छ । संघले एक विज्ञप्ति जारी गर्दै संस्थाभित्रको आन्तरिक असमझदारीका कारण मन्त्री, सरकार र नेपाली समुदायमा पर्न गएको असहजताप्रति क्षमा याचना गरेको हो ।
एनआरएनए अमेरिका (एनसीसी युएसए) का दुई समानान्तर समितिहरूबीच समन्वयको अभाव हुँदा मन्त्रीको भ्रमणलाई लिएर सञ्चार माध्यम र समुदायमा भ्रम फैलिएको संघले स्वीकार गरेको छ । विकास उप्रेती र सत्येन्द्र शाहको नेतृत्वमा रहेका दुई अलग समितिले फरक-फरक धारणा सार्वजनिक गरेपछि यो स्थिति सिर्जना भएको हो ।
संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसबाट माननीय मन्त्रीज्यू, सम्बन्धित सरकारी निकायहरु, सञ्चार माध्यम तथा नेपाली समुदायमा पर्न गएको कुनै पनि प्रकारको असहजता, भ्रम वा अपूरणीय क्षतिप्रति गैरआवासीय नेपाली संघ क्षमाप्रार्थी छ ।’
संघले विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी युएसएले नै मन्त्री गुप्तालाई औपचारिक कार्यक्रमका लागि आमन्त्रण गरेको र यो भ्रमण पूर्णतः आधिकारिक रहेको स्पष्ट पारेको छ ।
नेपालमा भएको पछिल्लो 'जेनजी' (Gen Z) आन्दोलनको प्रतिनिधित्व गर्दै मन्त्री बनेका गुप्ताले अमेरिकामा ‘जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाहरुको भूमिका’ विषयक गोष्ठीमा सहभागी हुने कार्यक्रम छ । सो कार्यक्रममार्फत विदेशमा रहेका नेपाली युवाहरूलाई देशको विकाससँग जोड्ने लक्ष्य राखिएको छ ।
आन्तरिक विवादका कारण संस्थाको साखमा आँच पुगेको महसुस गर्दै संघले आगामी दिनमा सूचना प्रवाह र संस्थागत समन्वयलाई व्यवस्थित र सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ । मन्त्री गुप्ताको भ्रमणलाई सफल बनाउन र नेपाली डायस्पोरासँगको सम्बन्धलाई मजबुत पार्न संघ प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।