काठमाडौं - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभएको छ । आजरत्नपार्कस्थित कार्यालयमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।
यसअघि, आजै घिसिङले नियुक्तिपत्र बुझ्नुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उहाँले नियुक्तिपत्र लिनुभएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ ।
२०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर विदा हुनुभएका घिसिङ फेरि प्राधिकरणमा फर्किनुभएको हो ।
२०७३ सालमा कार्यकारी निर्देशक नियुक्त हुनुभएका घिसिङले यसअघिको कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खल्नुभएको भन्दै सर्वत्र प्रशंशा भएको थियो ।
गत वर्ष घिसिङको कार्यकाल सकिएका वेला सर्वसाधारणले उहाँलाई पुनःनियुक्ति गर्न सरकारलाई माग गरेका थिए । तर, तत्कालिन केपी शर्मा नेतृत्वको सरकारले घिसिङको सट्टा शाक्यलाई नियुक्त गरेको थियो ।