काठमाडौँ - नेता हृदयेश त्रिपाठीले नयाँ दल खोल्ने भएका छन् । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठीले जनता प्रगतिशील पार्टीकाे घाेषणा गर्दैछन् । उनले शनिवार काठमाडाैँकाे एभरेष्ट होटलमा बिहान ११ बजे पार्टीको घोषणा गर्ने छन् । ‘नयाँ दलको घोषणा गर्दैछु,’ त्रिपाठीले भने, ‘मेरो आफ्नै एजेण्डाहरू छन् । त्यसलाई नयाँ दलमार्फत सम्बोधन गराउँदै अघि बढ्छु ।’
सो पार्टीमा त्रिपाठी मात्रै अध्यक्ष रहने छन् । पार्टीको घोषणापछि दलका विभिन्न कमिटीहरू विस्तार गर्ने र सदस्यहरू थप्दै लाने त्रिपाठीले बताए । गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनीलगायत नेताहरूले एमालेको सूर्य चुनाव चिह्नबाट प्रदेश सभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधि सभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका छन् ।