काठमाडौं - आईसीसी विश्व कप क्रिकेट लिग-२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने एकदिवसीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले हिजाे बिहीवार सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा लामिछानेसहित ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल, सोमपाल कामी र करण केसी रहेका छन् । त्यसैगरी विनोद भण्डारी, रोहित कुमार पौडेल, पवन सर्राफ , बिक्रम सोब र भीम सार्की पनि टिममा फर्किएका छन् ।
यूएई जानुअघि नेपाली टोलीले श्रीलङ्कामा तयारी गर्नेछन् । नेपाली टोली भोलि शनिवार श्रीलङ्का जानेछ । श्रीलङ्काबाट आउँदो मार्च १४ तारिख अर्थात् फागुन ३० गते टोली यूएई प्रस्थान गर्नेछ ।
नेपालले एकदिवसीय शृङ्खलामा यूएई र पपुवा न्यु गिनी (पीएनजी) सँग दुई/दुई वटा खेल खेल्नेछ । लिग 'टु' मा नेपालसहित ओमान, स्कटल्यान्ड, अमेरिका, यूएई, नामिबिया र पीएनजी गरी सात टोली छन् ।