×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‍अमेरिका विश्वकप छनोटमा, युएईको जोगियो एकदिवसीय मान्यता

‍अमेरिका विश्वकप छनोटमा, युएईको जोगियो एकदिवसीय मान्यता

काठमाडौं-आइसिसी क्रिकेट विश्वकप क्वालिफायर प्लेअफमा चौथो जित निकाल्दै अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेको छ। 

अमेरिकाले मंगलबार भएको खेलमा जर्सीमाथि २५ रनको जित निकाल्दै विश्वकप छनोटम स्थान पक्का गरेको हो। यता अर्को खेलमा नामिबियाले क्यानडालाई १११ रनले पराजित गरेको छ। जितसँगै नामिबियाको विश्वकप छनोटमा पुग्ने सम्भावना बलियो भएको छ।

क्यानडा पराजित भएसँगै युएईको एकदिवसीय मान्यता जोगिएको छ।

नामिबियामा जारी प्रतियोगितामा घरेलु टिम नामिबियासँगै अमेरिका, युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा भइरहेको छ। 

अमेरिका सबै पाँच खेल खेल्दा ८ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नामिबियाको ५ खेलबाट ६ अंक छ। चार खेल खेलेको युएई ६ अंक जोड्दै तेस्रो स्थानमा छ। चौथो स्थानको क्यानडाको ४ खेलबाट ४ अंक र पाँचौ स्थानको जर्सीको २ अंक छ। पुछारको पपुवा न्युगिनीले चारै खेलमा हार बेहोरिसकेको छ।

प्रतियोगिताबाट शीर्ष दुई टिम विश्वकप छनोटमा पुग्ने प्रावधानअनुसार अमेरिकाले विश्वकप छनोटमा स्थान पक्का गरेको हो। अब नामिबिया, युएई र क्यानडा मध्ये एक टिमले विश्वकपमा स्थान बनाउनेछ। 

यस्तै नामिबिया र अमेरिकाले विश्वकप लिग-२ बाटै एकदिवसीय मान्यता कायम गरेको अवस्थामा युएई, क्यानडा, जर्सी र पपुवा न्युगिनी मध्ये दुई टिमले एकदिवसीय मान्यता पाउने नियम छ। 

जसमा युएईले एकदिवसीय मान्यता जोगाउदा पपुवा न्युगिनीले गुमाइसकेको छ। अब क्यानडा र जर्सी मध्ये एक टिमले एकदिवसीय मान्यता प्राप्त गर्नेछन्। 

प्रतियोगिताको अन्तिम दिन भोलि जर्सी र युएई तथा क्यानडा र पपुवा न्युगिनीबीच खेल हुँदैछ।

क्यानडाले भोलिको खेलमा जित निकाले एकदिवसीय मान्यता प्राप्त गर्नेछ। युएई पराजित भएर आफूले ठूलो अन्तरको जित निकाले क्याडना विश्वकप छनोटमा पुग्नेछ। युएईले भोलि जित निकाले विश्वकप छनोटमा स्थान पार्नेछ भने नामिबिया बाहिरिनेछ।

विश्वकप छनोट आगामी जुलाईमा जिम्बावेमा हुँदैछ। विश्वकप छनोटबाट दुई टिम विश्वकपमा पुग्नेछन्।

विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड, ओमान र अमेरिका गरी ८ टिमले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी २ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट एक टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। 

विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरिनेछ। दुवै समूहका शीर्ष तीन टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्सका शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन्। 

प्रतिकृया दिनुहोस्