नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यसअघि राष्ट्रपति कार्यालयले जारी गरेको प्रधानमन्त्री नियुक्तिको व्यहोरालाई सच्याएपछि नवनियुक्त प्रधानमन्त्री देउवा शपथ लिन राजी भएका हुन् ।
नवनियुक्त प्रधानमन्त्री देउवालाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि जारी गरिएको पत्रमा संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । नवनियुक्त प्रधानमन्त्री देउवाले उक्त नियुक्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने अडान लिएपछि नियुक्तिको व्यहोरा सच्याई धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गरिएको उल्लेख गरिएको थियो ।