अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा देखिएको समस्या सुल्झाउन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निर्देशन दिएका छन् । पूँजी बजारमा तनावपूर्ण अवस्था देखिएपछि परिस्थिति सहज बनाउन आग्रह गर्दै अर्थमन्त्री शर्माले कहाँ के सुधार गर्नुपर्ने हो ? त्यसलाई सम्बोधन गरेर समस्या समाधान गर्न गभर्नर अधिकारीलाई निर्देशन दिएका हुन् ।
अर्थमन्त्री शर्माले आज टेलिफोन संवाद गरी अधिकारीसँग कुरा गर्दै पूँजी बजारमा देखिएको पछिल्लो समस्या समाधान गर्न जोड दिएका हुन् । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितो कर्जामा १२ करोड सीमा राखेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक एक सातामै झण्डै २०० अंकले घटेको छ । लगानीकर्ताहरु संगठित भई आन्दोलनमै उत्रिएका छन् भने उनिहरुले तत्काल पुँजी बजार सुधार गर्ने नल्याए गभर्नर अधिकारीको राजिनामासमेत माग गरेका छन् ।
गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाएर परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेको अर्थमन्त्री शर्माको सचिवालयले जनाएको छ ।