×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटघाट

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच सिंहदरबारमा भेटघाट

काठमाडौं-  धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ। शनिबार सिंहदरबारमा मध्यान्ह १२ बजेदेखि छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। समसमायिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भइरहेको बताइएको छ। यसअघि बिहीबार उनीहरूबीच भेटवार्ता भएको थियो। भेटका क्रममा भुटानी शरणार्थी बनाएर विदेश पठाउने भन्दै ठगी गरेको घटनाका बारेमा छलफल भएको थियो। नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। त्यसपछि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका थिए।

ओलीले यस भुटानी शरणार्थी प्रकरणमा रायमाझीलाई षड्यन्त्र पूर्वक समाउन खोजेको घटना रहस्यमय भएको बताएका थिए। यस प्रकरणमा पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको नाम पनि बयानको क्रममा आएको र प्रहरीले त्यसलाई हटाएको एमाले स्रोतले दाबी गरेको छ। खाणले पनि यस प्रकरणमा आफू संलग्न नरहेको भन्दै विज्ञप्ति जारी गरेको छ। खाण गृहमन्त्री भएका बेलामा गृहसचिव रहेका टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरेसँगै खाणको भूमिकामाथि पनि प्रश्न उठेको हो।

यस्तै पूर्वगृहमन्त्री एवं एमालेकै नेताका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार पनि पक्राउ परेका छन्। उनीसँगै बादलका छोरा प्रतिक, इन्द्रजितका छोरा निरजविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। यस्तै टोपबहादुर रायमाझीका छोरा सन्दीप भने पक्राउ परिसकेका छन्। यस घटनामा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ। यसमा पक्राउ पर्नेको संख्या अझै बढ्न सक्ने प्रहरी बताउँछ। जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाको अनुसन्धान संगठित अपराध कसुरमा गरिरहेको छ।

प्रतिकृया दिनुहोस्