काठमाडौं - नेपाली कांग्रेसको सभापतिका लागि भएको चुनावको मतगणना सुरु भएको छ ।
अहिलेसम्म ६ सय मत गणना भएको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवाले सुरुवाती अग्रता लिनुभएको छ । उहाँले ६ सय मत गन्दा दुई सय ८८ मत प्राप्त गर्नुभएको छ । देउवालाई अर्का उम्मेदवार शेखर कोइरालाले पछ्याइरहनु भएको छ । कोइरालाको दुई सय १२ मत छ ।
यस्तै अहिलेसम्म प्रकाशमान सिंहले ४२, विमलेन्द्र निधिले ३९ र कल्याण गुरुङले ३ मत पाउनुभएको छ । कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि हिजो भएको मतदानमा ४ हजार ६ सय ७९ मत खसेको थियो ।
कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । सभापतिमा जित्न २ हजार ३ सय ४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ । सभापतिका लागि तीन वटा ट्याङ्कीमा मत खसालिएको थियो । ती तीन वटै ट्याङ्की राष्ट्रिय सभागृहमा ल्याएर मतगणना सुरु गरिएको छ ।
सभापतिको मत गणनापछि दोस्रो चरणमा पदाधिकारीहरुको र तेस्रो चरणमा केन्द्रीय सदस्यहरुको मतगणना पार्टी कार्यालय सानेपामा हुने पार्टीको निर्वाचन समितिले जनाएको छ ।