दैलेख- दुल्लु अस्पतालमा अप्रेसन सेवा सञ्चालन लागि तयारी पुरा भएको र अप्रेसन थ्रेयटरको सम्पूर्ण जडान कार्य सकिएको छ ।
अबको केही दिनमा अप्रेसन सेवा सञ्चालनमा आउने दुल्लु अस्पतालले जनाएको छ । यस्तै विशेषज्ञ डा. राजन नारायण नकर्मी सहितको टिममा डा. शिशिर सौरभ, डा. मनोज विश्वकर्मा डा. आशिष माक, एनेस्थेशिया कृष्ण जोशी, स्कर्बमा नर्सिङ मनिता अधिकारी, ज्ञानमणि थापा ,समीर कुमार खत्री सहितको सम्पूर्ण टिम तयारी अवस्थामा रहेको दुल्लु अस्पतालले जनाएको छ ।
दुल्लु नगरपालिकाका नगरप्रमुख भरत रिजालले अप्रेसन सेवा मङ्सिर दोस्रो साताबाट सुरु हुने बताए । दुल्लु अस्पतालबाट सुरुवाती चरणमा ८ प्रकारका अप्रेसनहरू हुने पनि उनले बताए । दुल्लु अस्पताललाई थप स्तरीय बनाउन अघिल्लो स्थानीय सरकारले पनि काम गरिरहेको र आफ्नो कार्यकालमा पनि महत्त्वपूर्ण काम गर्ने बताए ।
यस्तै, दुल्लु नगरपालिकाका निवर्तमान नगरप्रमुख घनश्याम भण्डारीले दुल्लु अस्पतालमा अप्रेसन सेवा सुरु गर्न एक वर्ष अघि देखि नै काम सुरु गरेको बताए । उनले भने, ‘भौतिक पूर्वाधारको अभावमा अप्रेसन सेवा सुचारु गर्न ढिलाइ भएको र अहिले अस्पतालका दुई भवनलाई एकै ठाउँमा जोडेर अप्रेसन कक्ष तयार पारेको बताए ।
अप्रेसन सेवा दुल्लु अस्पतालमा नै पाउने भएपछि स्थानीयहरू हर्षित भएको स्थानीय स्वास्थ्यकर्मी महेन्द्र थापाले बताए । उनले भने, ‘अब दुल्लुमा नै स्थानीयले अप्रेसन सेवा पाउने भएपछि यहाँका नागरिकलाई सामान्य उपचारका लागि पनि बाहिर जानुपर्ने समस्या अन्त्य हुनेछ ।’