काठमाडौँ- इलाम क्षेत्र नम्बर २ को मत परिणाम चित्त नबुझेर बिहीबार डम्बर खड्काले सर्वोच्च अदालतमा उजुरी दिए । खड्काले मत गणनाका क्रममा अन्यायपूर्ण पराजित गरेको आरोप लगाएका छन् । निर्वाचन परिणाममा झिनो ११७ मतान्तरले पराजित भएपछि खड्काले अन्याय गरेको आरोप लगाउँदै आएका थिए । अन्ततः उनी अदालतसम्म पुगे ।
यसअघिका सबै चुनावमा एमाले उम्मेदवार सुवास नेम्बाङले सहज जित निकाल्दै आएका थिए । सो क्षेत्रमा २४ वर्षदेखि कुनै पनि चुनावमा नेम्बाङ हारेका छैनन् । यस पटक भने नेम्बाङलाई जीत निकाल्न उति सहज भएको थिएन । नेम्बाङको जीत त निस्कियो, पहिलोपल्ट आरोप समेत खेप्नु प¥यो ।
इलामको क्षेत्र नम्बर १ मा समेत भयो उस्तै । पहिलोपल्ट समाजवादीबाट लडेका वरिष्ठ नेता झलनाथ खनालले हार्नु प¥यो । उनले निर्वाचनको परिणाम सहजै ग्रहण गर्न सकेनन् । परिणाम एमालेका उम्मेदवार महेश बस्नेतको पक्षमा आयो । बस्नेत एक्ला थिए । खनाललाई काँग्रेस, माओवादी लगायत गठबन्धनको साथ थियो । क्षेत्र नम्बर १ समाजवादीको प्रभाव क्षेत्र मानिएको थियो । तर, परिणाम त्यस्तो आएन । झलनाथले सहन सकेनन् । उनी विरोध गरिरहेका छन् ।
यस अघिको चुनावमा उनै खनालले भनेका थिए, ‘निर्वाचनमा होमिएपछि चुनावी परिणाम स्विकार्न सक्नुपर्छ ।’ यस पटक उनै खनालले परिणाम स्विकार्न नसकेको आरोप समेत लगाइयो ।
इलाममा २ वटा निर्वाचन क्षेत्र छन् । यस पटक दुवै क्षेत्रमा पराजित उम्मेदवारले चुनावमाथि नै प्रश्न उठाए । दुवै क्षेत्रमा मत गणनामा समेत अन्याय भएको आरोप लगाए । यसअघि पराजित उम्मेदवारमा सामान्य असन्तुष्टि देखिन्थ्यो । अदालतकै शरणमा पुगेको यो पहिलो घटना हो ।