दाेहा । कतारस्थित नेपाली राजदूतावासले आफ्नो परिसरमा बिहानैदेखि सेवाग्राहीहरू जम्मा हुने, खुला स्थानमा सवारीसाधन पार्किङ गर्ने र चर्को स्वरमा बोल्ने जस्ता गतिविधिका कारण छिमेकीहरूलाई असजिलो भएको जनाएको छ। राजदूतावासले बुधबार एक सूचना जारी गर्दै त्यस्ता गतिविधिका कारण बारम्बार गुनासो आइरहेको भन्दै सबै सेवाग्राहीहरूलाई कार्यालय समयको ख्याल गरी बिहान ८ बजेपछि मात्र सेवा लिन आउन अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ, “यस राजदूतावासको परिसर बाहिर बिहान ५ बजेदेखि नै सेवाग्राहीहरू भेला हुने, अनावश्यक भिडभाड गर्ने, ठूलो स्वरमा कुराकानी गर्ने र लामो समय सवारी पार्किङ गर्ने कार्यले छिमेकी बासिन्दाहरूलाई असहजता पुगेको छ। त्यसैले सेवाग्राहीहरूले कार्यालय समयलाई ध्यानमा राखी बिहान ८ बजे मात्र आइपुग्न अनुरोध गरिएको छ।”
दूतावासले साथै सेवा लिन सम्बन्धित व्यक्ति मात्र उपस्थित हुन र कार्यालय परिसर वरिपरि अनावश्यक रूपमा नबस्न आग्रह गरेको छ। दोहास्थित नेपाली दूतावासले प्रष्ट पारेको छ कि कतारमा बसोबास गर्ने नेपालीहरूले नियमानुसार सेवा लिन आउँदा सभ्य व्यवहार गर्नुपर्छ, जसले नेपालको प्रतिष्ठा कायम रहोस् र दूतावासका छिमेकीसँग सौहार्दपूर्ण सम्बन्ध जोगाइराखियोस्।as