एजेन्सी- फ्रान्सेली लेखक डोमिनिक लापियरको निधन भएको छ । उनको ९१ वर्षको उमेरमा निधन भएको हो । ‘९१ वर्षको उमेरमा बुढ्योली र सम्बन्धित रोगका कारण उहाँको निधन भएको छ,’ लापियरकी पत्नी डोमिनिक कोन्कोन–लापियरेले फ्रान्सेली पत्रिका वार–माटिनसँग भनेकी छन् । लापियरका ‘फ्रिडम एट मिडनाइट’ र ’सिटी अफ जोय’ जस्ता पुस्तक भारतमा सर्वाधिक बिक्री हुने पुस्तकमध्ये पर्छन् ।
३० जुलाई १९३१ मा चाटेलेलोनमा जन्मिएका लापियरले अमेरिकी लेखक ल्यारी कोलिन्ससँग मिलेर लेखेका ६ वटा पुस्तकको विश्वभर करिब ५ करोड प्रति बिक्री भएको थियो । सन् १९६५ मा प्रकाशित गैर–आख्यान यस पुस्तकमा नाजी जर्मनीले फ्रान्सेली राजधानीमा नियन्त्रण तथा आत्मसमर्पण गरेको र फ्रान्सिस फोर्ड कोपोला र गोर भिडालद्वारा रजत पर्दाको लागि अनुकूलित गरिएका अगस्त १९४४ सम्मका घटनाहरूको वर्णन गरिएको छ ।
सन् १९८५ मा कोलकाताका एक रिक्सा चालकले भोग्नु परेको पीडाबारे लेखिएको लापियरको उपन्यास ‘सिटी अफ जोय’ भारतमा सर्वाधिक पढिएको कृति हो । यसै कथामा सन् १९९२ मा प्याट्रिक स्वेज अभिनित र रोलान्ड जोफद्वारा निर्देशित एक चलचित्र रिलिज भएको थियो । लापियरले आफ्नो रोयल्टीको ठूलो हिस्सा ‘सिटी अफ जोय’ बाट भारतमा मानवीय परियोजनामा सहयोग गर्न दान गरेका थिए ।
सन् १९८० को दशकको सुरुतिर कोलकातामा मदर टेरेसालाई भेट्न जाँदा उनले रोयल्टीबाट जम्मा भएको ५० हजार अमेरिकी डलर प्रदान गरेका थिए ।सहयोग स्वीकार्दै टेरेसाले भनेकी थिइन्, ‘यदि यो सहयोगको उक्त थोपा (रकम) नभएको भए आफ्नो अभियानका लागि ठूलो रकम (समुद्र) समेत जम्मा हुने थिएन ।’