काठमाडाैँ- सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएकाे छ । उनीहरूबीच आइतबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भेटवार्ता भएकाे हाे ।
भेटमा सभामुख सापकोटाले लामो अनुभव र महत्त्वपूर्ण जिम्मेवारी बहनको अनुभवसहित नेपालको राजदूतमा नियुक्त श्रीवास्तवको कार्यकाल दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास गरे । नेपाल र भारतबीच मौलिक एवं बहुआयामिक सम्बन्ध रहेको चर्चा गर्दै सभामुख सापकोटाले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्ष र भारतले आफ्नो स्वतन्त्रताको ७५ औं वर्ष मनाइरहेको सन्दर्भ स्मरणसमेत गरेका छन् ।
राजदूत श्रीवास्तवले भारतले ‘छिमेकी पहिलो नीति’ रहेको चर्चा गर्दै आठ वर्षमा पाँच पटक प्रधानमन्त्रीको तहबाट नेपाल भ्रमण भएको स्मरण गरे । लामो र ऐतिहासिक सम्बन्ध रहेको दुवै देशबीचमा सहकार्यका थुप्रै सम्भावना रहेको चर्चा गर्दै उनले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने धारणा राखे ।
जलवायु परिवर्तनको असर दक्षिण एसियाको साझा समस्या रहेको बताउँदै राजदूत श्रीवास्तवले सामूहिकरूपमा समाधान खोज्नुपर्नेमा जोड दिए ।