प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सोमबार विपक्षीतर्फका कानुन व्यवसायीहरूले बहस सुरू हुँदैछ। आइतबार रिट निवेदकतर्फका कानुन व्यवसायीहरूको बहस सकिएसँगै विपक्षका तर्फबाट बहस सुरू हुनलागेको हो। प्रारम्भिक बहसका लागि संवैधानिक इजलासले निवेदक पक्षलाई १२ घण्टाको समय दिएको थियो। उक्त अवधिमा निवेदक पक्षका ३६ जना कानुन व्यवसायीले बहस गरेका छन्।
आइतबारमात्र १६ जना कानुन व्यवसायीले बहस गरेका थिए। रिट निवेदक तर्फबाट बहस गर्ने अधिकांशलाई पाँच मिनेट समय तोकिएको थियो।
सोमबारदेखि सरकारी वकिलका तर्फबाट मुद्दाको प्रतिरक्षा प्रारम्भ हुनेछ। सरकारी वकिल र अन्य प्रत्यार्थी कानुन व्यवसायीका लागि इजलासले १५ घण्टा समय तोकेको छ।
तर, समय व्यवस्थापनका लागि सरकारी र सभामुख अग्निप्रसाद सापकोटाका नीजि कानु व्यवसायीबीच विवाद देखिएको छ।
सभामुखकका कानुन व्यवसायीले आधा समय माग गरेका छन् भने महान्यायाधिवक्ताले त्यति समय दिन नमिल्ने आइतबार इजलासमै बताएका थिए।
महान्यायाधिवक्त रमेश बडालले सभामुखका कानुन व्यवसायीलाई एक घण्टा समय दिने बताएका थिए। तर, उनका नीजि कानुन व्यवसायीले त्यो समय अपुग रहेको बताएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ३० मिनेट थप्न सकिने जिकिर गरेका थिए।
मुद्दामा महान्यायाधिवक्त बडाल सरकारी वकिलको नेतृत्व गरिरहेका छन्। यसैगरी पूर्वमहान्यायाधिवक्तद्वय सुशील पन्त र अग्नि खरेलपनि प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्ने भएका छन्।
सभामुख सापकोटाका तर्फबाट पाँच जना कानुन व्यवसायीले बहस गर्ने तय भएको छ।