×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

इन्द्रेणी–विशेष

त्यो अन्तिम पात

त्यो अन्तिम पात


अहिले बाहिर झमझम पानी परिरहेको छ। किन हो कुन्नि मलाई वर्षातहरू उत्सवहरू जस्तो लाग्छ। मानिसहरुको हर्कतबाट प्रदुषित भएको यो सहरमा जब जब वर्षात्  हुन्छ , तब धेरैं समयदेखि प्रदुषित भएको सहरको आत्मा सफा हुन्छ - जसलाई म काव्यात्मा भन्न चाहन्छु। तपाई कल्पना गर्न सक्नुहुन्छ, सर्लक्क नुहाएको स्निग्ध पवित्र आत्मा। कल्पनाबाट तपाईंले प्रसन्नता प्राप्त गर्नु भयो होला। तपाईंलाई फेरि यो सहरको पवित्र काव्यात्मा स्पर्श गर्न मन लाग्यो होला। यो आत्मामा फेरि दाग लाग्ने छ किनकि मान्छेले छोएको कुनै पनि कुरा चोखो हुँदैन। 

धतेरी! म त भन्दै थिए कि मलाई बर्सात उत्सव जस्तो लाग्छ भनेर। प्रथतः तपाईंहरूलाई वर्षात कुनै उत्सव जस्तो नै लाग्दैन होला। त्यसमाथि वर्षातलाई उत्सव जस्तो मनाउने तरिका पनि फरक छ होला।

कोही मनमनै गम्छन् - मौसमले च्यालेन्ज गर्यो यार! त्यसपछि दिमागमा चोक, मधुशाला, पुरा नभरिएको ग्लास, मधु - गफका चित्रहरू खेल्न थाल्छन् होला। वर्षातको दिन मधुशाला धाउने धाउनेहरूलाई उक्त अवधि नै मधुमास लाग्ला। 

तर यो महान् उत्सवलाई मनाउने तरिका बेग्लै छ। 

म कोठाभित्र धुमधुन्ती बसिरहेको छु। बाहिर वर्षातको लौकिक संगीत बजिरहेको छ। म शीघ्र उठ्छु अनि शनै शनै झ्याल खोल्छु।
( एउटा व्यक्तिगत जानकारी सुनाईहाले, मलाई ढोकाहरुभन्दा झ्याल प्रिय लाग्छ किनकि म मदहोस भइरहेको संसारको वास्तविक स्वरूप म झ्यालबाट अवलोकन गर्छु। )। झ्यालमा उघिरहेका पानीका थोपहरु झसङ्ग भएर व्युझिन्छन् र हतार हतार मबाट भाग्छन्। उनीहरू भागेर के भयो र उनीहरूले सम्झनाको सानो डोब झ्यालमा छाडेर गएका छन् र त्यसैमा सन्तुष्ट छु। 

म मेरा नजर तन्काएर झ्यालबाट बाहिर पुर्याउँछु। म अनुभव गर्छु, मगमग गरिरहेको माटो, निथ्रुक्क भिजेका पीपलका पातहरू, धुपीको हाँगामा झुण्डिरहेका पानीका बिन्दुहरू अनि वर्षातको सङ्गीतसँग सङ्गत गरिरहेको यो पर्यावरण। म चुप छु। मलाई लागिरहेको छ म कुनै मृदुल संगीतको संगतमा छु, अनि कुनै महान् साहित्यको सानिध्यमा। 


मलाई हठात् त्यो पहेंलो पातको याद आयो। त्यहीं पिपलको शुष्क हाँगालाई समातेर एउटा पहेंलो जिन्दगी बाँचिरहेको पहेंलो पात। 

मलाई हरियो जिन्दगी बाँचिरहेका पातहरू देख्ता पनि किन त्यो पुरानो पहेंलो पातको याद आयो, म भन्न सक्दिनँ। रिमझिम झरिरहेको सावनमा म किन फ्ल्यासब्याकमा गए? म निरुत्तर छु। शायद तपाईंहरूले अनुमानको दुनियाँमा खोज्नुभएका अनेक अड्कलहरूलाई उत्तरको रूपमा पाए भने चित्त बुझाउने छु। 

म धन्य छु यो वर्षातप्रति। कारण - विस्मृतिको धमिलो संसारमा लोप हुन लागेको त्यो एकमात्र पहेंलो पातलाई फेरि स्मृतिको दुनियाँमा तानेर ल्याएको छ यो वर्षातले। 

तपाईंहरूलाई लाग्यो होला - जाबो एउटा पात पनि किन यति धेरै अनमोल लागेको होला!
म तपाईंहरूलाई भन्छु, त्यो पात सँगको मेरो सम्बन्ध अत्यन्त भावनात्मक र अन्तरङ्ग छ। त्यसैले जाबो शब्द प्रयोग गर्ने धृष्टता नगर्नु होला। 

म फ्ल्याश ब्याकमा जाने अनुमति माग्छु।

आजभन्दा चार महिनाअघिको बात हो। 

चैतको महिना। त्यसै पनि निराशावादको  महिना हो चैत महिना। वियोग, विराग, विरह, उराठ... ती समयका प्रतिनिधि शब्दहरू हुन्। ती वैराग्य धारण गरेका महिनाहरूले मनमा कुनै जागर पैदा गराउँदैन थिए। हृदय त्यसै त्यसै थकित हुन्थ्यो । आफूलाई बेला बेला व्युझाउन चेष्टा गर्ने सान्तवनाका शब्दहरू समेत क्लान्त हुन्थे। म यस्तरी जिउँदै मरेको बेला ती शब्दहरूका हातले मलाई थपथपाउथे तर त्यतिबेला त हात उठाउने जागर पनि राख्दैनथिए ।

यही पिपलको रुख,जो अहिले पानीमा रुझिरहेको छ, नाङ्गो थियो। सारा पातहरूले साथ छोडेर गइसकेका थिए। त्यतिबेला यो पीपल जीवनमा वार्धक्य प्रवेश गरेको, तालु खुइलिदै गरेको मान्छेजस्तो देखिन्थ्यो। मलाई यो सब दृश्यमा त्यति सार्हो रुचि त थिएन तर पनि नाङगेझार भएको पीपलमा लामो समयदेखि एउटा पात बाँचिरहेको थियो। हो, त्यहीं कुराले मेरो सारा ध्यान यो पिपलको तर्फ खिच्यो। 


त्यो पातका साथीसँगीले धेरै पहिले नै उसलाई एक्लो तुल्याएर झरिसकेका थिए। कति त अनेक दुर्घटनामा परेर कलिलै उमेरमा खसेका थिए। नाजाने त्यो पातले आफ्नै आँखाले कति वियोग देखेको थियो होला।

उसले सबैको मृत्यु र वियोग देख्यो। आफ्नो मुटुलाई हदभन्दा धेरै भाँच्यो। अब ऊ एक्लै थियो।

अब ऊ एक्लै थियो, म जस्तै एक्लै। 


जब म झ्याल खोलेर बाहिर चिहाउथे, उसले मलाई हेरिरहेको झै प्रतीत हुन्थ्यो। ऊ एक्लो त छदै थियो, त्यसमाथि जिन्दगीका तमाम् हरिया रंगहरू उडेर गएका थिए। आफूले भोगीआएका यामहरूको याद नै बाँच्नुको एकमात्र सार थियो होला। 

कोही पनि कति दिनसम्म यादको भरोसामा बाँचिरहनु सक्ला र।

तर उसले मलाई देख्यो। मैले उसलाई देखें। एउटै कहानी भोगिरहेका दुई पात्रको भावनात्मक सम्मिलन। 

म जब बिहानै उठेर झ्याल खोल्थे , बतासको लयमा उसले मलाई हात हलाउठ्यो। जब म घर फर्कन्थे, मलाई लाग्थ्यो उसले मेरो अनुपस्थितिमा दिनभरि नियस्रो मानीरहेको थ्यो। म बेला बेला उ सँग मौन वार्तालाप गर्थे। त्यहीं रितले हामी माझ गजबको घनिष्टता बढेको थियो। छुट्टा छुट्टै आत्माका समरुप कथा ब्यथाले सम्बन्धको धागोलाई अझ बलियो सँग अनि कलात्मक पाराले बुनिरहेको थियो। 

यद्यपि म दिनदिनै डराईरहेको थिएँ। त्यो पात मेरा प्रत्येक धड्कन हरू सँगै बुढो हुँदै गइरहेको अनुभूति भइरहेको थियो। म उसलाई अझ स्नेह गर्न थालिसकेको थिएँ। 

म स्वार्थी पनि हुन सक्थे होला। 

हरिभक्त कटुवाल भएर उसको अनुहारका खजमजिएका रेखाहरूमा गीत पनि लेख्न सक्थे होला।

प्रतिभा भएको भए सत्यजित रायझै उसमाथि सिनेमा बनाउन सक्थे होला। 

ऊसको कथा चोर्दा प्लाग्यारिज्म लाग्दैन थियो। 

तर पनि मलाई उ संगको सम्बन्ध यी सब चीज भन्दा प्रिय थियो। 

ऊ बेला बेला सोच्थ्यो होला - कुनै बेला वासन्ती सूर्यकिरणमा उसको अनुहारमा कस्तो उज्ज्वल आभा चमकिन्थ्यो, अकारण आवेगसँग कुदिरहेका बतासका लहरहरूमा पौडीन कस्तो आनन्द हुन्थ्यो, जुन चुहिएका रातमा शीतसँग प्रित साट्नमा अपूर्व राग पैदा हुन्थ्यो। 

ऊ त्यतिबेला उन्मुक्त थियो, त्यसैले मुक्त थियो। तर उ अहिले त्यही मुक्ति खोजिरहेको छ, मुमुक्षु भएको छ। त्यहीं मुक्तिको चिन्तनको चिन्ताले उसको शरीर ठाउँ ठाउँमा कालो भएर डढेको छ, अहिले। 

म लगभग निश्चिन्त थिए, जब यो पातले रुखबाट आफ्नो उपस्थिति तोड्छ, तब उक्त पात हावामा बतिदै पौडिदै मेरो खुल्ला झ्याल हुँदै मेरो कोठामा प्रवेश गर्ने छ अनि म उसलाई अभुतपूर्व स्वागत गर्ने छु। म उसको पहेंलो रङ्गलाई, उसको बदलिएको स्वरूपलाई सहर्ष स्वीकार गर्ने छु। 

एक रात हावा अचाक्ली बहुलायो। 

मलाई थाहा थियो, त्यो पातले पहिले जस्तो बतासलाई इन्जोय गर्ने छैन किनभने ऊ पनि पहिले जस्तो छैन। 

मैले झ्याल खोले अनि सुते। म केवल हावाहरूको सर्सराहट चाल पाईरहेको थिए। 

भोलिपल्ट बिहान उठेर कोठाको चारैतिर हेरेँ। ऊ कतै पनि थिएन। म झ्याल बाहिर गएर हेरेँ। एक्लो पीपल उभिरहेको थियो। त्यो मेरो पातलाई बतासले भगाएर कतै पुर्याईसकेको थियो। 

अब म पनि पीपलको अन्तिम पात झैं भए। मेरो हृदयमा थिग्रिएका थोरै न्यानोपना पनि निभ्यो। अनि उसको तस्बिर जमेको आँखाले धेरै दिन  पहेँलो जिन्दगी गुजारा नियालीरहे। 

केही समयपछि पीपलको बोट बिल्कुल नयाँ भयो। नयाँ नयाँ पालुवा पलाए। केही झरे पनि। मलाई लाग्थ्यो, सबैभन्दा सुन्दर मृत्यु त्यहीं मेरो पहेलो पातले भोग्यो। उसले हरिया पातझै हाँगालाई दुखाइ दुखाइ झरेन, त्यत्रो वियोग र पिडा खपेर पनि हाँगामा कुनै घाउ नलगाई झर्यो। 

आफैलाई भन्छु - चोट नदिईकन गायब हुनेहरू कमै हुन्छन् नी यार। 

थाहा छैन कुन गाउँमा पुग्यो की, कहाँ कहाँ भट्कीदैछ की या कुनै पुस्तकप्रेमी घुमन्तेको मनपसंद पुस्तकभित्र निदाइरहेको छ कि। आफूसँगै जतनसँग राख्न चाहेको थिएँ, थाहा छैन कति वटा पैतालाले उसलाई कुल्चिए, कतिवटा पैतालले चुमे। कति चोटि आँशु पोख्यो होला अनि फेरि आफैं रूमाल भएर आँसु पुछ्यो होला। कति मुस्कानहरू बाट्दै हिड्यो होला। म बाट टाढा हुँदै उसलाई बोलाईरहेको जिन्दगीको पछि लाग्यो। चाहना राखेपछि कुराहरू टाढा हुँदा रहेछन्। 


फ्ल्याशब्याक सकियो। तर पनि उसको याद सकिएको छैन । यहाँ हरिया पातहरू झुरुप्प छन्। तर त्यो अन्तिम पहेंलो पातको बात बेग्लै छ। अझै पनि उ मेरो यादमा जीवित छ। त्यो पहेंलो पात मभित्र बल्झिरहने मिठो घाउ हो । 

कहिेकाहीँ लाग्छ कतै उ मेरो प्रतीक्षाको परीक्षा त लिइरहेको छैन? यदि यो कुरा साँचो हो भने यो वर्षातले मेरो परीक्षामा मलाई असफल हुन दिएको छैन्। 


प्रिय तपाईंहरू। 

म मेरो वर्षातको पवित्र उत्सवलाई यसरी यादहरूमा हराएर बाँच्छु। अनि तपाईं नी।

प्रतिकृया दिनुहोस्