काठमाडौं- बाजुरास्थित कोल्टी विमानस्थलमा अवतरणको क्रममा जहाजको टायर पन्चर भएपछि यात्रुहरूले जहाजलाई धकेलेर रनवे खाली गराएका छन् । बुधबार दिउँसो १ बजे हुम्लाबाट नेपालगन्जका लागि उडेको यती एयरको जहाज बाजुरामा रहेका यात्रु लिन कोल्टी विमानस्थल अवतरण गर्ने क्रममा टायर पन्चर भएको हो ।
यती एयरका प्रवक्ता सुदर्शन बर्तौलाले अरू जहाज अवतरण गराउनुपर्ने भएकाले त्यसका लागि रेनवेबाट जहाज हटाउन उपकरण नभएका कारण यात्रुले जहाज धकेल्नुपरेको बताए । ‘यात्रुको सहायताले जहाजलाई धकेलेर साइड लगाइएको हो,’ उनले भने ।
बर्तौलाले पन्चर भएको जहाजको बुधबार नै टायर फेरिसकिएको र जहाज यात्रु लिएर नेपालगन्ज फर्किसकेको कोल्टी विमानस्थलका सुरक्षा गार्डले जानकारी दिए ।