बिराटनगर - तयारी सुरु गरेको १९ वर्षपछि पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको बाटो खुलेको छ । संघीय सरकारको मन्त्रिपरिषदको बैठकले कोसी अस्पताल विराटनगरलाई अभ्यासका लागि प्रयोग गर्न दिने निर्णय गरेपछि विश्वविद्यालयलाई कलेज सञ्चालन गर्ने बाटो खुलेको हो ।
२०७८ माघ २४ गते कोसी अस्पताल विराटनगरले पूर्वाञ्चल विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको थियो । सहमतिको एक वर्षपछि २०७९ माघ २३ गतेको मन्त्रिपरिषदको बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएको हो ।
गत मंसिर ४ गतेको चुनावी अभियानका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मोरङको सुन्दरहरैचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालनको अनुमति दिने आश्वासन दिएका थिए । दाहालले आफ्नै क्याबिनेटबाट मेडिकल कलेज सञ्चालनको बाटो खोलिदिएका हुन् ।