×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य : राजदूत क्वात्रा

नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य : राजदूत क्वात्रा

काठमाडाैँ- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताएका छन् । राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताएका हुन् ।

‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत-नेपाल साझेदारीलाई महत्त्वपूर्ण गति प्रदान गरेको छ,’ उनले भनेका छन् । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप-२६ सम्मेलनका क्रममा भएको साइडलाइन वार्ता, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री डा नारायण खड्काबीच न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभामा भएको साइडलाइन बैठकले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसङ्ग पनि सो सन्देशमा उल्लेख गरेका छन् ।

राजदूत क्वात्राले जयनगर-कुर्था-विजुलापुर र जोगबनी-विराटनगरलाई जोड्ने अन्तरदेशीय रेलमार्ग, भूकम्पले भत्काएका नुवाकोट र गोरखामा भारत सरकारको पुनः निर्माणमा सहयोग एवं नेपालको अनुरोधमा युरिया र डिएपी मल आपूर्तिलाई प्राथमिकता दिएको प्रसङ्ग पनि राजदूत क्वात्राले सो सन्देशमा उल्लेख गरेका छन् ।

कोभिड-१९ को सङ्क्रमणका क्रममा खोप, आइसियु शय्या, मेडिकल अक्सिजन प्लान्टलगायतको सहयोग भारतले उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले कोभिडसम्बन्धी कडा प्रतिबन्धका बाबजुद पनि दुवै देशको व्यापार निर्बाध ढङ्गले अगाडि बढेको उनको भनाइ छ । रासस

प्रतिकृया दिनुहोस्