काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज पनि देशका अधिकांश स्थानमा बदली रही वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि बदली रहनुका साथै कतिपय स्थानमा हल्का वर्षा समेत भइरहेको छ । अपराह्नपछि उपत्यकाको मौसममा सामान्य सुधार आउने जनाइएको छ ।
प्रतिकूल मौसमका बीच त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सञ्चालन भइरहेको विमानस्थलले जनाएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा आईएफआर प्रविधिबाट उडान भइरहेको छ ।
महाशाखाको मौसम बुलेटिनानुसार आज प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थान तथा अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
रातिको समयमा पनि प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै रहेको छ । भोलि आइतबारदेखि मौसममा क्रमिक रूपमा सुधार आउने महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । रासस