×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

सांसदका कागजातमा एकरूपता ल्याउन र 'माननीय' नलेख्न रवि लामिछानेको निर्देशन

सांसदका कागजातमा एकरूपता ल्याउन र 'माननीय' नलेख्न रवि लामिछानेको निर्देशन

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सबै सांसदहरूलाई उनीहरूको लेटरहेड, भिजिटिङ कार्ड र अन्य आधिकारिक कागजातहरूमा एकरूपता कायम गर्न निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित संसदीय दलको अनौपचारिक बैठकमा सभापति लामिछानेले यस्तो निर्देशन दिएका हुन्।

बैठकका निर्णयबारे जानकारी दिँदै रास्वपा प्रवक्ता मनिष झाले सभापति लामिछानेले सांसदहरूलाई आफ्ना कुनै पनि कागजातमा 'माननीय' सम्बोधन प्रयोग नगर्न स्पष्ट निर्देशन दिएको बताए। पार्टीको सादगी र जनमुखी छविलाई ध्यानमा राख्दै यस्तो निर्णय लिइएको बुझिएको छ।

राजनीतिक यात्रामा अझै धेरै कुरा सिक्न बाँकी रहेको उल्लेख गर्दै लामिछानेले सबै सांसदहरूलाई मेन्टर र सल्लाहकारहरू राख्ने अभ्यास गर्न सुझाएका छन्। संसदीय कार्यलाई प्रभावकारी बनाउन विज्ञहरूको सल्लाह र सुझावलाई अधिकतम उपयोग गर्न उनले सांसदहरूलाई आग्रह गरे।

आगामी निर्वाचनको प्रसङ्गमा सभापति लामिछानेले कुनै पनि सांसदलाई कसैलाई पनि टिकटको आश्वासन वा प्रतिबद्धता नदिन सचेत गराएका छन्। "टिकटका विषयमा गलत अभ्यास भएको भेटिए वा कसैलाई आश्वासन दिएको पाइएमा सम्बन्धित व्यक्ति कारबाहीको भागीदार हुनुपर्नेछ," लामिछानेले बैठकमा भने।

आगामी निर्वाचनका लागि योग्य उम्मेदवार चयन गर्न र उनीहरूलाई प्रशिक्षित गर्न रास्वपाले आगामी वैशाख २० गतेदेखि 'उम्मेदवार क्लब' (Candidate Club) को अभ्यास सुरु गर्ने भएको छ। यो प्रणाली मार्फत पारदर्शी रूपमा उम्मेदवारहरूको छनोट गरिने पार्टीले जनाएको छ।

प्रतिकृया दिनुहोस्