काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा रुस्लान थ्री स्टार क्लबले जित निकालेको छ । आइतबार भएको खेलमा थ्री स्टारले नेपाल आइस हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराएको हो ।
थ्री स्टारलाई जित दिलाउन घानेफो अन्सुमाना क्रोमाले एक गोल गरे । थ्री स्टारले एक गोल भने आत्मघाती उपहार पाएको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शेर्पाका डिफेन्डर अमृत श्रेष्ठको आत्मघाती गोलबाट थ्री स्टारले अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा अमृतले आत्मघाती गोल गरेका थिए । थ्री स्टारका ऋतिक कुमार खड्काले अघि बढाएको बल अमितलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयको छैटौं मिनेटमा अन्सुमानाले गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । यस जितसँगै थ्री स्टारले ८ खेलमा १३ अंक जोडेको छ र तालिकाको पाँचौ स्थानमा उक्लन सफल भएको छ । शेर्पाले ८ खेलमा ११ अंक जोडेको छ । शेर्पा छैटौ स्थानमा रहेको छ ।