काठमाडौं- निर्वाचन नजिकिँदै गर्दा एमाले अध्यक्ष केपी ओलीले सत्तागठबन्धनमाथि एकपछि अर्को आरोप लगाउन थालेका छन् । शनिबार राजधानीमा भएको कार्यक्रममा ओलीले सत्तास्वार्थका लागि सत्तारूढ पाँचदलीय गठबन्धन देश बेच्न पनि तयार देखिएको आरोप लगाए ।
सत्तारूढ गठबन्धनले देशको भूमि, स्वाधीनता, सार्वभौमिकता र स्वाभिमान अंशअंशमा बेच्न तयार हुन सक्ने आरोप लगाए । ‘अलिकति हिस्सा बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति स्वाधीनता, सार्वभौमसत्ता र स्वाभिमान बेच्छन् । एकैचोटि नभएर अंशअंश गरेर बेच्छन्,’ ओलीले भने ।
गठबन्धन सरकारले देशमा महँगी, भ्रष्टाचार बढाएको आरोप लगाए । कामचलाउ हैसितयमा पुगिसकेपछि पनि अध्यादेशमार्फत कानुन ल्याएर तनाव बढाउने, चुनावमा धाँधली गर्नेतर्फ ध्यान केन्द्रित गरेको ओलीले आरोप लगाए । ओलीले सरकार आफैँले भुटानी शरणार्थीहरूलाई अमेरिका पुर्याउने धन्दा चलाएको, बिमा कम्पनीहरूको लाइसेन्स खोलेर चुनावी खर्च उठाउन भ्रष्टाचार गरिरहेको दाबी गरे । नयाँ पत्रिका दैनिकबाट