×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

टोकियोमा सुष्मा ओमाता सम्मानित,८४ बसन्तको जीवन–साधना र अनेसासको ८४औँ साहित्यिक यात्रा एकै मञ्चमा

टोकियोमा सुष्मा ओमाता सम्मानित,८४ बसन्तको जीवन–साधना र अनेसासको ८४औँ साहित्यिक यात्रा एकै मञ्चमा

टोकियो । जापानको राजधानी टोकियोमा अगस्ट २३ तारिख आइतबार साहित्य, संगीत, कला र संस्कृतिको संयाेग रहेकाे एउटा विशेष कार्यक्रमले नेपाली समुदायलाई भावुक र गौरवान्वित बनायो। अग्रज साहित्यकार तथा सितारवादक सुष्मा शाह ओमाताको ८४औँ जन्मोत्सव र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको ८४औँ नियमित साहित्यिक शृंखला । दुवै अवसरलाई एउटै उत्सवमा जोड्दै कार्यक्रम भव्य रूपमा सम्पन्न भयो । एउटा ८४- सुष्मा ओमाताको जीवन र संगीत साधनाको यात्रा, अर्को ८४-अनेसास जापानको साहित्यिक साधनाको यात्रा। संयोग मात्र होइन, यो त जीवनभरको साधना र संस्थागत साहित्यिक यात्राको अद्भुत संगम थियो।

पाँच दशकभन्दा लामो समयदेखि जापानमा रहेर नेपाली भाषा, साहित्य, संगीत, कला र समाजसेवामा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएकी सुष्मा शाह ओमातालाई सोही अवसरमा ‘अनेसास जापान दीर्घ साहित्य साधना सम्मान २०८३’ अर्पण गरियो। काठमाडौंको बसन्तपुरमा जन्मनुभएकी ओमाता सन् १९७३ मा पहिलोपटक जापान आउनुभएको थियो। जापानमा बिताएका पाँच दशकभन्दा लामो यात्रामा उहाँले आफ्नो कला, साहित्य र संगीतको साधनालाई नेपाली समुदायसँग जोड्दै आउनुभएको छ। त्यसैले आइतबार टोकियोमा सम्पन्न यो कार्यक्रम केवल जन्मोत्सव थिएन, केवल साहित्यिक शृंखला पनि थिएन, यो एउटा जीवनले गरेको दीर्घ साधनाप्रति सम्मान थियो, र नेपाली साहित्य तथा संस्कृतिप्रतिको निरन्तर यात्राको उत्सव थियो।

अनेसास जापानका सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमको सभाध्यक्षता अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीले गर्नुभएको थियो भने अनेसास जापानका संस्थापक अध्यक्ष तथा केन्द्रिय सल्लाहाकार डा. कुमार बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । सुष्मा शाह ओमाताको ८४ वर्षको जीवनयात्रा अझ स्वस्थ, सुखी र दीर्घ रहोस् भन्ने कामनासहित माधव पौडेलले स्वस्तिवाचन गर्नुभएको थियो।

नेपाली राजदूतावास टोकियोका कार्यवाहक राजदूत हरिहरकान्त पौडेलदेखि एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरूले ओमाताको योगदानको चर्चा गर्दै सम्मान व्यक्त गरे। कार्यक्रममा १२० जनाभन्दा बढीको सहभागिता रह्यो। करिब दुई दर्जन साहित्यकार तथा स्रष्टाले आफ्ना सिर्जना वाचन गर्दै ओमातालाई जन्मदिनको शुभकामना दिए। कार्यक्रमको पहिलो चरणमा अनेसास जापानका महासचिव मनोज मौसम केसी दोस्रो चरण सचिव यमलाल कँडेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम संयोजक तथा अनेसास जापानकी उपाध्यक्ष दीपा घिमिरेले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो।

त्याे उत्सब त्यत्तिमै रोकिएन। साहित्यका शब्दहरू गुञ्जिएपछि, सितारका सुरहरूको स्मरणपछि, अन्ततः वातावरण भक्तिमय बन्यो। धौलागिरी भजन समूहले सुष्मा शाह ओमाताको सम्मान तथा दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भजन–कीर्तन प्रस्तुत गर्‍यो। कार्यक्रमले साहित्यबाट संगीत र संगीतबाट अध्यात्मतर्फको सुन्दर यात्रा पूरा गर्‍यो। र अत्यमा सिर्जनालाई सम्मान,साधनालाई नमन र नेपाली साहित्य, कला तथा संस्कृतिको यो यात्रालाई निरन्तर शुभकामना ।

प्रतिकृया दिनुहोस्