×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

टोकियोमा ९ वर्षीय नेपाली बालक आयान्सको विश्व कीर्तिमान, गिनिज बुकमा दर्ज भयो नाम

टोकियो । परदेशको भूमिमा नेपाली भाषा, संस्कृति र पहिचानलाई आत्मसात् गर्दै हुर्किरहेका ९ वर्षीय नेपाली बालक आयान्स थापा ले जापानको टोकियोमा असाधारण सफलता हासिल गर्दै गिनिज वर्ल्ड रेकर्ड्समा आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । बझाङ मूलघर भएका आयान्स हाल परिवारसहित टोकियोमा बसोबास गर्दै आएका छन्। सानै उमेरमा उनले हासिल गरेको यो अन्तर्राष्ट्रिय उपलब्धिले जापानमा रहेका नेपाली समुदायसँगै नेपाललाई समेत गौरवान्वित बनाएको छ।

गत २५ जुलाई २०२६ मा टोकियोको शिन्जुकुस्थित कागुराजाकामा आयोजित विशेष कार्यक्रममा आयान्ससहित १ हजार ५० जना सहभागीले जापानको लोकप्रिय परम्परागत नृत्य ‘आवा डान्स’ एउटै लय, ताल र कोरियोग्राफीमा प्रस्तुत गरेका थिए । उक्त प्रस्तुतिले “The largest Awa dance (same choreography)” अर्थात् एउटै कोरियोग्राफीमा गरिएको सबैभन्दा ठूलो आवा डान्स को गिनिज वर्ल्ड रेकर्ड कायम गरेको हो । ऐतिहासिक प्रस्तुतिमा आयान्सले पनि सक्रिय सहभागीका रूपमा आवा डान्स प्रस्तुत गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपछि उनलाई गिनिज वर्ल्ड रेकर्ड्सको आधिकारिक प्रमाणपत्र प्रदान गरिएको थियो।

९ वर्षमै विश्व कीर्तिमान

सानै उमेरमा अन्तर्राष्ट्रिय स्तरको कीर्तिमानको हिस्सा बन्न सफल आयान्सको यो उपलब्धि व्यक्तिगत सफलतामा मात्र सीमित छैन। जापानमा हुर्किरहेका नेपाली बालबालिकाका लागि समेत यो प्रेरणाको विषय बनेको छ । परदेशमा जन्मिएर वा हुर्किएर पनि नेपाली बालबालिकाले आफ्नो प्रतिभा, अनुशासन र आत्मविश्वासका माध्यमबाट अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन सक्छन् भन्ने उदाहरण आयान्सले प्रस्तुत गरेका छन्।

विशेषगरी जापानमा रहेका नेपाली अभिभावक र नयाँ पुस्ताका लागि आयान्सको सफलता ‘परदेशमा अवसरसँगै सम्भावना पनि उत्तिकै ठूलो हुन्छ’ भन्ने सन्देश बनेको छ। नेपाली समुदायका लागि गौरवको विषय बनेको यस उपलब्धिले जापानमा नेपाली बालबालिकाको प्रतिभा र सक्रिय सहभागितालाई समेत उजागर गरेको छ।

प्रतिकृया दिनुहोस्