काठमाडौँ, भारतसँगको शृंखलाको तेस्रो टेस्टमा घरेलु टोली इंग्ल्यान्डले प्रभावशाली जित निकालेको छ । इंग्ल्यान्डले इनिङ र ७६ रनले खेल जितेको हो । खेलको चौंथो दिन नै इंग्ल्यान्डले जित हासिल गरेसँगै पाँच खेलेको सिरीज १-१ को बराबरीमा पुगेको छ ।
भारतले चौंथो दिन २ विकेट गुमाएर २१५ रनबाट दिनको खेल सुरू गरेको थियो । जहाँ उसले थप ६३ रन जोड्दा बाँकी ८ विकेट गुमायो । आज चेतेश्वर पुजारा, विराट कोहली, अजिंक्य रहाणे, ऋषभ पन्त, मोहम्मद शामी, इशान्त शर्मा, रविन्द्र जडेजा तथा मोहम्मद सिराज एक पछि अर्को गर्दै आउट भएका थिए।
भारतले दिनको पहिलो विकेट चेतेश्वर पुजाराको गुमायो । उनी ९१ रनको अबस्थामा पेभिलियन फर्किए । पुजारालाई ओली रोबिन्सनले एलबिडब्लु धरापमा पारे । अम्पायरले नटआउट दिएपनि इंग्लिस कप्तान जो रुटले डिआरएसको सहायता लिए । जहाँ उनी सफल रहे । पुजारा र कोहलीले तेस्रो विकेटका लागि ९९ रनको साझेदारी गरेका थिए । तर पूजारा ९ रनले शतक बनाउनबाट चुके ।
भारतलाई अलआउट बनाउने क्रममा ओली रोबिन्सन घातक बने । उनले भारतका पाँच विकेट लिए । त्यस्तै क्रिग ओभरटनले ३ विकेट लिँदा मोइन अली र जेम्स एन्डरसनको समान १-१ विकेट रह्यो ।
यसअघि पहिलो इनिङमा भारत केवल ७८ रनमा समेटिएको थियो। जवाफमा इंग्ल्यान्डले ४३२ रन बनाएको थियो । तर दोस्रो इनिङमा पनि भारतले इंग्ल्यान्डलाई भेट्न असफल हुँदा इंग्ल्यान्ड फराकिलो जित आत्मासात गर्न सफल रह्यो ।