काठमाडौं- पहिलाे एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपाल ८४ रनले पराजित भएकाे छ । सोमबार कीर्तिपुरमा भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा युएईले दिएको २६४ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै १७९ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ५४ रन बनाए । ८४ बल खेलेका उनले ६ चौका प्रहार गरेका थिए । यस्तै अर्जुन साउदले ७९ बल खेल्दै डेब्यूमै अर्धसतक प्रहार गरेका छन् । उनले ५ चौका प्रहार गरे । ज्ञानेन्द्र मल्ल शून्यमा आउट हुँदा हरिशंकर साहले ८ रन जोडे । कुशल भुर्तेल ६, सोमपाल कामी र करन केसी ३-३ रन बनाए। यस्तै गुल्सन झाले १९ रन बनाए ।
नेपाललाई सस्तैमा रोक्न युएईकाआयन अफजाल खानले सर्वाधिक ४ विकेट लिए। एक दिवसीय करियरमा उत्कृष्ट बलिङ गरेका उनले १० ओभरमा ४ मेडन राख्दै १४ रन खर्चिए । यस्तै बसिल हामिदले २ विकेट लिए। यस्तै जाहुर खान, रोहन मुस्ताफा र अमेद राजाले १-१ विकेट लिए ।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो । युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।
उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै दीपेनद्र सिंह ऐरीको बलमा एलबीडब्लु आउट हुनुअघि भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए । कप्तान सिपी रिजवानले २ रन बनाए ।
त्यसपछि आलिसान सराफूले ३९ बलमा २९ रन बनाए। उनले २ चौका प्रहार गरे । बसिल अहमद १४ रन बनाउँदा आयल अफजाल खानले २६ रन बनाए। अहमद राजा २७ रनमा नटआउट रहे । नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए ।