काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा ओमानविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको यो ऐतिहासिक जित हो । यसअघिको खेलमा नेपालले ओमनसँग हार बेहोरेको थियो। साथै, नेपालले ओमानलाई कुनै पनि प्रारूपमा यति फराकिलो अन्तरले हराउन सकेको थिएन ।
सिरिजको अन्तिम खेलमा ओमानले दिएको १ सय २२ रनको लक्ष्य नेपालले १८.२ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेले । उनले ४६ बलमा चार चौका र दुई छक्कासहित अविजित ५२ रन बनाए । यो सिरिजमा उनको यो लगातार दोस्रो अर्धशतक हो ।
त्यस्तै, आसिफ शेखले ४४, रोहितकुमार पौडेल कुशल भुर्तेलले ६/६ रनको योगदान दिए । बलिङमा नेस्टर धम्बाले दुई र कलीमुल्लाहले एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको ओमानले ३७.१ ओभरमा सबै विकट गुमाएर १ सय २१ रन मात्र बनाउन सक्यो ।
उसका लागि कप्तान जीशान मक्सूदले ४१, जतिन्द्र सिंहले १३, नसीम खुशीले १२ र कलीमुल्लाले अविजित १० रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।
बलिङमा करण केसी र सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । करणले ८ ओभरमा २५ रन खर्चिएर चार र सन्दीपले ८.१ओभरमा १८ रन दिएर चार विकेट हात पारे । त्यस्तै, शरद भेषवाकरले दुई विकेट लिए ।
नेपालले सुखत अन्त्य गरेको छ । यसअघि नेपालले सिरिजका दुई खेलमा लगातार हार ब्यहोरेको थियो ।
सन्दीप र करणले बनाए कीर्तिमान
करण केसीले ओमानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान बनाएका छन् । नामिबियाका जोनाथन स्मिथ (८ विकेट) लाई उछिन्दै करणले यो कीर्तिमान बनाएका हुन् ।
ओमानविरुद्ध ४ खेल खेल्ने क्रममा करणले कुल १० विकेट लिएका छन् । यस्तै, सन्दीपको स्पेल (८.१-२-१८-४) ओमानविरुद्ध नेपाली बलरको सबैभन्दा उत्कृस्ट बलिङ स्पेल हो ।