न्यूयोर्क/एजेन्सी- एलन मस्कले माइक्रो ब्लगिङ सोसल मिडिया ट्वीटर किन्ने सम्झौता आफ्नो तर्फबाट रद्द गरिदिएका छन् । विश्वका सबैभन्दा धनाड्य व्यक्ति एलन मस्कले गत २५ अप्रिलमा ट्वीटरलाई ५४ दशमलव २० बिलियन डलरमा किन्ने प्रस्ताव गरेका थिए, यद्यपि पछि ४४ बिलियन डलरमा किन्ने सम्झौता भएको थियो ।
उक्त सम्झताबाट पछि हटेपछि अब एलन मस्कविरुद्ध ट्वीटरले मुद्दा दर्ता गर्ने तयारी गरेको छ । थुप्रै हप्तादेखि जारी टेक वल्र्डको यो हाई भोल्टेज ड्रामामा यतिबेला एउटा नयाँ मोड आएको छ । एलन मस्कका अनुसार ट्वीटरले सम्झौतामा उल्लेख गरिएका विभिन्न नियमहरु तोडेको छ, त्यसकारण उनी सम्झौताबाट पछि हटेका हुन् ।
एलन मस्कका वकीले ट्वीट गर्दै लेखेका छन्– ‘मस्कले यो मर्जरलाई टर्मिनेट अर्थात रद्द गर्दैछन् । ट्वीटरले सम्झौतालाई छेडछाड गरेका कारण मस्कले यो निर्णय गरेका हुन् । ट्वीटरले एलन मस्कसंग गलत तथा नभएको प्रस्तुतिकरण गर्यो, जसलाई मर्जरको क्रममा मस्कले विश्वास गरे ।’
एलनको घोषणापछि ट्वीटरले आफ्नो धारणा सार्वजनिक गर्दै कम्पनी यो मर्जरलाई पुरा गर्न चाहने तथा यसलाई पुरा गर्नका लागि अदालत जाने तयारी समेत गरिरहेको जनाएको छ ।
ट्वीटरका चेयरम्यान ब्रेट टेलरले पनि एउटा ट्वीट गर्दै ट्वीटरको बोर्ड एलन मस्कसंग गरिएको सम्झौता र मूल्यमा नै यो लेनदेनलाई सम्पन्न गर्न प्रतिवद्ध छ । ‘हामी यो मर्जर सम्झौतालाई पुरा गर्नका लागि कानूनी प्रकृया समेत थाल्ने छौं, उनले भनेका छन् ।
ब्रेट टेलरको यो ट्वीटको प्रतिउत्तरमा ट्वीटरका केही शेयर होल्डरहरुले उनीहरुले एलन मस्कले ट्वीटरलाई पेनाल्टी दिएर यो सम्झौताबाट बाहिर निस्कनु पर्ने बतँएका छन् । किनभने उनीहरु एलन मस्कलाई ट्वीटरको मालिकको रुपमा हेर्न चाह“दैनन् ।
स्मरणीय छ, एलन मस्कले पछिल्लो केही सातादेखि ट्वीटर सम्झौतालाई होल्डमा राखेका थिए । मस्कको भनाइ के थियो भने ट्वीटरले पहिला प्लेटफर्मममा बट्स एकाउन्ट ५ प्रतिशत भन्दा कम भएको प्रमाणित गरोस् । किनभने सम्झौता गरिएको बेला ट्वीटरले एलन मस्कलाई त्यस्तै आँकडा देखाएको थियो ।
यदि यो सम्झौता एकतर्फी रुपमा रद्द भयो भने एक बिलियन डलर पेनाल्टी तिुर्न पर्नेछ । अर्थात यदि एलन मस्कले यो सम्झौता भंग गरे भने उनले ट्वीटरलाई एक बिलियन डलर पेनाल्टी स्वरुप तिर्नु पर्छ । तर, यदि उनले ट्वीटरमाथि लगाएका आरोप सावित गर्न सफल भए भने यो ठीक उल्टो हुनेछ । त्यस्तो भयो भने मस्कले पनि ट्वीटरविरुद्ध कानूनी प्रकृया थाल्नेछन् ।
यसैबीच, एलन मस्कको यो घोषणापछि शुक्रवार ट्वीटरको शेयर ६ प्रतिशतले घटेको छ । यद्यपि, पछि यो ५ प्रतिशतमा रह्यो । रोचक कुरा के छ भने टेस्लाको स्टक एक प्रतिशतले बढेको छ ।